असोज २२, जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई विश्वकै स्वास्थ्य अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको बताएका छन् ।
आज प्रतिष्ठानले जुम्लामा गरेको स्वागत कार्यक्रममा प्रदेश सरकारलेले प्रतिष्ठानलाई स्वास्थ्य पर्यटन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने शाहीले बताए ।
“विज्ञान प्रतिष्ठान पश्चिम नेपालको हिमाली क्षेत्रको गौरवको स्वास्थ्य संरचना हो,” उनले भने, “यसमा आधुनिक चिकित्साका साथै प्राकृतिक चिकित्सा विकासमा समेत जोड दिनेछौं ।”
कर्णालीबासीको सरदर आयु बढाउने स्वास्थ्य शिक्षा र सेवा प्रदान गर्ने बहुमुखी योजना बनाएर कार्यान्वयन गर्न पदाधिकारी तथा विशेषज्ञ चिकित्सकलाई सुझाव दिए ।
प्रतिष्ठानका विद्यार्थीले कुर्सी भाँच्ने, सिसा फोड्ने र तालाबन्दी गर्ने शिक्षा सिकेको व्यङ्ग्य गर्दै शाहीले भने, “प्रतिष्ठान पैसा कमाउने थलो नबनोस् । हिजो जे भयो, अब त्यो हुनु हुँदैन ।” यसलाई गलत स्थान बनाइए प्रदेश सरकार चूप लागेर नबस्ने शाहीले चेतावनी दिए । रासस

प्रतिक्रिया