२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–गलेश्वर सडक कालोपत्रे हुँदै, श्रमदानबाट पदमार्ग निर्माण



 

असोज १८, म्याग्दी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको प्रवेश विन्दुमा बेनी–गलेश्वर खण्डको सडक कालोपत्रे योजनाले पूर्णता पाउने भएको छ ।

तीन किलोमिटर दूरीको उक्त सडक कालोपत्रे १८ महीनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७२ मा शुरु भएको योजनाबाट २०७४ मा एक किलोमिटर ६०० मिटर मात्र कालोपत्रे गरिएको थियो ।

एक लेनको सम्झौता भएको सो योजनामा सरकारले कोरला नाका खोल्ने निर्णय गरेपछि दुई लेनको बनाउनुपर्दा कालोपत्रेको दूरी घटेको थियो । कालीपुलदेखि गलेश्वरसम्म बाँकी रहेको एक किलोमिटर ९०० मिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कार्यालयले पुनः ठेक्कामार्फत काम शुरु गरेको जनाएको छ ।

गत असारमा ४ करोड ३२ लाखमा ठेक्का सम्झौता गरिएको गौरी–पार्वती–रुपल जेभीले गलेश्वरको पहिरो क्षेत्रमा पर्खाल निर्माणको काम शुरु गरेको छ । गलेश्वर बसपार्क क्षेत्रमा नाली निर्माण भइसकेको निर्माण कम्पनीका प्रतिनिधि बिपिन खड्काले बताए । आगामी १० महीनाभित्र कालोपत्रेको काम सक्ने सम्झौता गरिएको छ ।

सडक फराकिलो, पर्खाल तथा नाली निर्माण, दुई लेन कालोपत्रे गरिने भएको छ । नौ मिटर फराकिलो हुने सडकमा एक मिटर नाली र सात मिटर कालोपत्रे गरिने उक्त कार्यालयले जनाएको छ ।

सडक कालोपत्रे भएपछि प्रशिद्ध धार्मिकस्थल गलेश्वर, म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जान आउन प्रयोग हुने बेनी गलेश्वर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा असहज यात्रा गर्नुपर्ने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

श्रमदानबाट पदमार्ग निर्माण

म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । हिलापोखरी टोल सुधार समितिको सक्रियतामा उनीहरूले धौलागिरि चक्रीय पदमार्ग अन्तर्गत ७ नं वडामा पर्ने ताकमदेखि हिलापोखरी र खोरवाङ हुँदै ४ नं वडाको खारा जोड्ने गरी पदमार्ग निर्माण गरेका हुन् ।

उनासी घरधुरीले तीन दिनसम्म श्रमदान गरेर पाँच किलोमिटर भन्दा बढी पदमार्ग निर्माण गरेको समितिका अध्यक्ष रामजी मल्लले जानकारी दिए । धवलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटक र स्थानीयबासीको सुविधाका लागि पदमार्ग निर्माण गरिएको उनको भनाइ थियो ।

स्थानीयवासीले घाँसदाउरा र खेतीबाली लगाउन आवतजावत गर्ने परम्परागत घोडेटो बाटोलाई फराकिलो बनाउने, झाडी फाँडेर सरसफाइ गर्ने, पहिरो पन्छाउने, सिँढी बनाउने गरिएको छ । यसबाट खिवाङ, हिलापोखरी, मुदी, बगर, खारा, खाम्ला, बाँसबोट, चुचुङ, नाउराका बासिन्दालाई सुविधा पुगेको छ ।

यो पदमार्ग धौलागिरि चक्रीय पदमार्गको ताकम, मुना, मुदी र बिम कल्लेनी बाँसबोट खण्डको विकल्प भएको हिलापोखरीका याम पुनले बताए । अन्य दुईभन्दा यो नयाँ पदमार्ग छोटो छ । पर्यटकको चार समूह यही पदमार्ग भएर धवलागिरि आधार शिविरतर्फ गएका टोल सुधार समितिका अध्यक्ष मल्लले बताए ।
रासस

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार ००:००