असोज १५, महेन्द्रनगर– धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरअञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन् ।
अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि आज आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउत सहितको टोलीले निरीक्षण गर्दै अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारी सहितको विवरण २४ घण्टामा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भई अञ्चल अस्पताल प्रदेश सरकार मातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको बताए ।
उनले विकास समितिमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अब प्रदेश सरकारको रहेको उल्लेख गरे । मुख्यमन्त्री राउतले अस्पताललाई प्रदेशको केन्द्रीय अस्पताल मात्र नभइ शिक्षण अस्पतालकै रुपमा विकास गर्ने प्रदेश सरकार लागिपरेको बताए ।
निरीक्षण टोलीमा सामाजिक मन्त्री नवलकिशोर साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित मुख्य सचिव हरिप्रसाद फुँयाल सहितको सहभागिता थियो ।
रासस
प्रतिक्रिया