२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ सय घरमा गोबर ग्यास प्लान्ट



४ सय घरमा गोबर ग्यास प्लान्ट

राजेन्द्र पनेरु

असोज १५, कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का मङ्गलाल चौधरीलाई वनबाट दाउरा ल्याउने झन्झट छैन । ग्यासका सिलिण्डरका लागि चर्को मूल्यसमेत चुकाउनु परेको छैन ।

वातावरण सामुदायिक वनको अनुदान रकममा उहाँले घरमै शौचालय जडित गोबर ग्यास प्लान्ट जडान गरेका छन् । घरमै पालिएका चौपायाको गोबर प्लान्टमा हालेर त्यसबाट आउने ग्याँसबाट उनको घरमा खाना पाक्छ ।

यसअघि उनले वन रक्षकको आँखा छिचोल्दै टाढाबाट दाउरा ल्याउँथे । “गोबरग्यास प्लान्ट राखेपछि दाउराको झन्झट छैन । भान्सामा सहजै खाना पाक्ने गरेको छ,” उनले भने । गोबर ग्यासबाट निस्केको मल खेतबारीमा हाल्न थालेपछि बालीनाली समेत सप्रिएको उनले बताए ।

उनीजस्तै सामुदायिक वनबाट अनुदान रकम लिएर गोबर ग्यास र शौचालय बनाएका दिलबहादुर धानुक पनि खुशी व्यक्त गर्छन् । “पहिला शौच गर्न वन छेउ, सडक, खेतका आलीमा जानुपर्ने बाध्यता थियो,” उनले भने, “अहिले प्लान्टमा शौचालय जडान भए पछि सझिलो भएको छ ।”

सामुदायिक वनले गोबर ग्याससहितको शौचालय बनाउने परिवारलाई २ हजार रुपैयाँ अनुदान रकम दिने गरेको छ । बाँकी रकम उपभोक्ताले थपेर शौचलय जडित गोबर ग्यास प्लान्ट बनाउने गरेका छन् ।

अनुदान रकम पाउने परिवारले गोबर ग्यासमा शौचालय अनिवार्य जडान गर्नुपर्ने सामुदायिक वनले नियम बनाएको छ । गोबर ग्यास र शौचालय बनाउने चारसय बढी परिवारलाई रु आठ लाख ८४ हजार रकम अनुदानस्वरुप उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले बताए ।

अनुदानका लागि अझै तीन दर्जन बढी परिवारले सामुदायिक वनमा निवेदन दिएका छन् । सामुदायिक वनले दाउरा, काठ र बाँस बिक्री गरी उपभोक्तालाई शौचालय जडित गोबर ग्यास प्लान्ट जडानका लागि अनुदान रकम जुटाउने गरेको छ । रासस

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार ००:००