१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरपालिकामा ९ करोडको खानेपानी आयोजना



असोज १४, कञ्चनपुर । भीमदत्त नगरपालिकाका साढे दुई हजार बासिन्दालाई लक्षित गरि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ ।

नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा ९ करोड ४० लाख रुपैयाँको लागतमा आयोजनाको निर्माण थालिएको छ । नेपाल खानेपानी संस्थानले बनाउन लागेको यो आयोजनाबाट नगरपालिका–२ का १ हजार २ सय र ५ का १ हजार ३ सय बासिन्दाले खानेपानी सुविधा पाउनेछन् ।

खानेपानी संस्थानका कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले चालू आवभित्र बासिन्दाको घरमा पानी पुगाउने लक्ष्य राखिएको बताए । उल्टाखाम र वनगाउँका बासिन्दाका लागि खानेपानी आयोजना बन्न लागेको संस्थानका कार्यालय प्रमुख श्रेष्ठले बताए ।

चालू आर्थिक बर्षमा साढे १५ किलोमिटर पाइप लाइन विस्तार हुने र दुवै स्थानमा ट्युवेल जडान गरिने श्रेष्ठले बताए । आयोजनाअन्तर्गत ४ सय ५० घनमिटरका दुई ट्याङ्की निर्माण गरिनेछन् । नगरपालिका–२ का अध्यक्ष डम्मर सिंह कार्कीले खानेपानी सञ्चालन भएपछि नल्काको पानी खानुपर्ने बाध्यता हट्ने बताए ।

यसैगरी नगरपालिकाको उत्तरी क्षेत्रका बासिन्दाका लागि नगरपालिका–८ तिलौचारमा रु २८ करोड ५० लाखको लगानीमा अर्को खानेपानी आयोजना निर्माण गर्न लागिएको छ ।

चुरे क्षेत्रमा गर्मीका बेला नल्का र कुवाँमा पानी सुक्ने समस्या हुँदा स्थानीय बसिन्दाले निकै सास्ती खेप्दै आएका छन् । आयोजना निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रुपमा पानी पिउन पाउने छन् । नगरवासीलाई शुद्ध पानी उपलब्ध गराउन खानेपानी आयोजना सञ्चालन गरिएको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । रासस 

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार ००:००