२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेंसीशहर–चामे सडकखण्ड अझै खुलेन



असोज १३, बेंसीशहर । हिमालपारीको जिल्ला मनाङ जोड्ने सडक आधा महीना बितिसक्दा सञ्चालनमा आउन सकेको छैन ।

गत भदौ २७ गते हरितालिका तीजको दिन मस्र्याङ्दी गाउँपालिकामा परेको वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध भएको थियो । लमजुङ खण्डका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि १८ दिनयता सडक अवरुद्ध छ ।

लमजुङ खण्डको २५ किलोमिटर सडक अवरुद्ध भएकामा हाल बेंसीशहरदेखि मनाङतर्फ मस्र्याङ्दी गाउँपालिका–३, अर्खलेबेंशीसम्म र मनाङबाट लमजुङतर्फ मस्र्याङ्दी गाउँपालिका–४ रामबजारसम्मको बाटोमा यातायात सञ्चालन भएको छ ।

सडकखण्ड अवरुद्ध हुँदा मनाङ साथै उत्तरी भेगका घेर्मु, ताघ्रीङलगायतका स्थानीय बासिन्दाले समस्या भोग्नुपरेको छ । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सडक नखुल्दा घेर्मु, ताघ्रीङ साथै मनाङतर्फ खाद्यान्नलगायत ढुवानी ठप्प भएको बताए ।

मस्र्याङ्दी गाउँपालिका–४ का वडा अध्यक्ष सुमन गुरुङले चाडपर्व नजिकै आउँदा बाटो अवरुद्ध हुँदा स्थानीय बासिन्दाले सास्ती बेहोर्नुपरेको बताए । “चाडपर्वका बेला सामान बोकेर ल्याउनुपरेको छ । पुरानो बाटो घुमाउरो छ, गाउँमा सडक आएपछि पुरानो बाटोबाट कोही हिँड्दैनन्”, उनले भने ।

अवरुद्ध सडक खोल्न विष्फोटक पदार्थ आवश्यक पर्ने भएकाले जेनेरेटरसहित कम्प्रेसर मेशिन व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले बताए । “बाटो खुलाउन हामी अहोरात्र खटिएका छौँ”, उनले भने, “हामी छिट्टै अवरुद्ध सडक खुलाउछौँ ।”

सडक डिभिजन कार्यालय दमौलीको सहयोगमा खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइ सकिएको छ । माथिल्लो क्षेत्रमा बुटवल पावर कम्पनीको विद्युत् आयोजनाको मेशिन प्रयोग गरी रामबजारबाट घोप्टेभिर अर्खलेतर्फको अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

चट्टान विष्फोटन गर्न नेपाली सेना, नेपाल प्रहरी, डिभिजन सडक कार्यालयका कर्मचारी र विद्युत् आयोजनाका कर्मचारी खटिएका छन् । बाढी पहिरोपछि बेंशीशहर–चामे सडकखण्डमा चल्ने मालवाहक ट्रक, जीप र ट्र्याक्टर बीच बाटोमै रोकिएका छन् ।

बेंशीशहरतर्फको अर्खलेभिर र मनाङतर्फको घोप्टेभिरका बीचमा पर्ने काभ्रेभिरमा सवारी साधन रोकिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए । रासस

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार ००:००