२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा अवरुद्ध



 

राजु पौडेल
असोज ५, कुश्मा ।

नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ ।

यतिबेला लोकमार्गको पोखरा–बागलुङ खण्डमा सडक विस्ताको काम तीव्र गतिमा भएसँगै सडक दैनिक सात घण्टाका दरले बन्द भएको हो । पूर्व–पश्चिम जोड्ने सडक तथा प्रसिद्ध तीर्थाटन एवं पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिनाथ जाने सडकसमेत यही भएकाले यात्रु भने मर्कामा परेका छन् ।

असोज १ गतेदेखि लागू हुने गरी असोज २० गतेसम्मका लागि दैनिक सात घण्टा बन्द भएको कम्पनीले जनाएको छ । सडक विस्तारको क्रममा घुम्ती चौडा बनाउने काम भइरहेको छ । महभीर, छमर्के, चुवा र अर्मादी लगायतका ठाउँमा चट्टान फोर्ने काम भइरहेको छ । नाली बनाउने, पर्खाल चिन्ने, जाली भर्ने काम पनि सँगसँगै चलिरहेको छ ।

पर्वतखण्डको डिमुवा देखि बेतनी सम्म र दोबिल्ला देखि चुवा सम्मको साँघुरो सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको हो । बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म, दिउँसो १ बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेबाट राति ८ बजेसम्म गरी जम्मा सात घण्टा सडक बन्द हुने लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।

धौलागिरिका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो सडक पटकपटक अवरुद्ध हुँदा सर्वसाधारणले दुःख पाइरहेका छन् । वर्षा रोकिएर सडक सहज हुने अपेक्षा लिएका सर्वसाधारण पुनः सडक अवरुद्ध हुँदा चिन्तित छन् । असोज २० गतेदेखि विजयादशमी शुरु हुने र प्रसिद्ध मुक्तिनाथधाम दर्शन गर्नेको समेत चाप बढ्ने भएकाले सडक खुला गरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए ।

पोखरा–बागलुङ खण्डको सडक चौडा गर्ने क्रममा बाटो बन्द गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलसहित बैठक बसेको हो । विकास निर्माणको काममा केही समय असहज भए पनि सहमति जुटेको हो जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख गुरुदत्त ढकालले भने, “सकभर विकल्प सडक बनाउनुपर्ने हो तर त्यो हुन सकेन, समन्वयका आधारमा एम्बुलेन्स र भिआइपीको यात्रामा भने जुनसुकै बेला पनि सडक खुला गर्न सकिने व्यवस्था छ ।”

“स्वास्थ्य परीक्षण लागि पोखरा हिँडेको थिएँ तर बीचमा रोकिनुप¥यो” जलजला–३ का गुमानसिंह कार्कीले भने, “कि विकल्प दिनुपथ्र्यो हामी स्वास्थ्य परीक्षणका लागि हिँडेकाले सास्ती पायौँ ।” ठूला चाडबाड समेत नजिकिँदै गरेकाले सडक लामो समय बन्द हुँदा निकै दुःख खेप्नु परेको यात्रुको गुनासो छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँस्वरुपमा विस्तार र स्तरोन्नति गर्न चार खण्ड बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्षमा पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ ।

अहिलेसम्म १५ प्रतिशत काम सकिएको आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुङ्गा सम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाखमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का पाएको हो ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार ००:००