२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

द्रुतमार्ग निर्धारित समयमै पूरा हुन्छः नेपाली सेना



 

असोज ४, काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समयभित्रै निर्माण गर्न सक्षम हुने दाबी गरे ।

सडकको रेखाङ्कन अनुरुप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्ररुपमा भइरहेको जानकारी दिँदै उनले भने, “कार्यतालिका, कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाइएको छ ।”

सस्तो मूल्यमा गुणस्तरीय ढङ्गबाट छिटो सम्पन्न गर्न सक्छ भन्ने सरकार र नागरिकको सेनाप्रतिको विश्वासलाई सङ्गठनले इतिहास रच्ने अवसरका रुपमा लिएर काम गरिएको पनि सो अवसरमा जानकारी दिइयो । उक्त द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको छ ।

उक्त कम्पनीसँग यही महीनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने तथा सम्झौता भएको चार महिनाभित्र डिपीआर तयार हुने सेनाले जनाएको छ । उक्त डिपीआर करीब १० करोड १५ लाखको लागतमा तयार हुनेछ ।

द्रुतमार्गले काठमाडौं र तराईलाई भावनात्मक र भौगोलिकरुपमा जोड्ने विश्वास गरिएको छ । प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टर मार्फत काम गरिरहेको सेनाले जनाएको छ ।

नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म एक हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ । द्रुतमार्गसहित ५२६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ ।
रासस

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार ००:००