रमेश गिरी
भदौ १९, भक्तपुर ।
यसवर्षको वर्षा सकिन लागिसक्यो तर वर्षा अगावै सिध्याउनु्पर्ने सडक निर्माणको काम भने ज्यूँका त्यूँ छ । जनप्रतिनिधिले कार्यभार बहन गरेको वर्ष दिन बितिसक्दा पनि जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् ।
वडाका जनप्रतिनिधि आफै ओहोरदोहोर गर्ने सडकको कन्तबिजोग हेरेरै बसेका छन् । वर्षा अगावै निर्माण गर्नुपर्ने सडक ठकेदारको ढिलाइले भदौको दोस्रो साता बितिसक्दा पनि सम्पन्न नभएकाले सूर्यविनायक नगरपालिका २ बालकोट सडकखण्ड अचेल हिँडिसक्नु छैन ।
त्यो सडकले बालकोट पाटीधारादेखि महेन्द्रशान्ति अगाडि, माइक्रोबस पार्क र सिरुटारको सिमानाको पुलसम्म ठूलठूला खाल्डाले वडा नं २ का वडा अध्यक्षदेखि वडा सदस्यहरुलाई दैनिक गिज्याइँरहँदा पनि टुलुटुलु हेरेर बसेका छन् ।
दुईपाङ्ग्रे सवारीसाधन पटक÷पटक खाल्डोमा पर्छन्, सडक जाम पनि उत्तिकै हुन्छ साथै पानी परेका बखत महेन्द्र शान्ति अगाडिदेखि माइक्रोबस पार्क र सिरुटार पुलसम्म खोला बगेजस्तै गरी सडकमा पानीको ठूलो भेल बग्छ ।
स्थानीय राजकुलो मिच्ने र साविकको पानीको निकास थुनेर केही स्थानीयवासी र महेन्द्र शान्ति माविले पर्खाल लगाएकाले असारदेखि बगेको पानीको भेल बाटोबाटै बग्दा कालोपत्रे सडकमा भ्वाङै्भ्वाङ भएर दुर्घटना बढ्दा पनि सडक सुधारमा कसैको चासो छैन । ग्राबेल हाल्न पटक पटक २ नं वडा कार्यालयलाई भन्दा नमानेपछि वडा नं १ (सिरुटार)ले बालकोटमा ग्राबेल हालेको थियो तर सडकमा पानी बग्दा माटो भएको ग्राबेल सबै बगाएको स्थानीयवासीको भनाइ छ ।
डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारी त्यो सडक देखेर रुनै मन लागेको बताउछन् । उनी भन्छन्, “सडकको कन्तबिजोग छ, यो सडक देखेर मेरो पनि आँखा रसायो, मन दुख्यो, यहाँका बासिन्दाले साह्रै सकस भोगेका रहेछन् ।” अब स्थानीयवासी सरकार र प्रदेश सरकारले यहाँका सडक हेर्नुपर्ने उनको भनाइ छ ।
स्थानीय समाजसेवी अनिल श्रेष्ठ भने ठेकेदारको लापर्बाहीका कारण यहाँका बासिन्दाले समस्या भोग्नु परेको बताउछन् । ठेकेदारले असारको अन्तिममा आएर अपुरै छाड्दा सडकमा थप समस्या आएको उनको ठहर छ ।
बालकोट २ धारापाटीबाट ललितपुरको महालक्ष्मी नगरपालिकास्थित चाँगाथली जोड्ने सडकखण्डमा पनि खाल्डाखुल्डीले पानी जमेको छ । काठमाडौं उपत्यका नगरविकास आयोजनाले असारको अन्तिममा सडक निर्माण गर्न लगाउदा भक्तपुर र ललितपुरका बासिन्दाले समेत सास्ती खेप्दै आएका छन् ।
सडक निर्माणका क्रममा सडक भन्दा दुई फिटमाथि पर्खाल लगाइएकाले पानीका निकास नहुँदा सडकमा जमेको पानीको निकास नभएको गुनासो गर्दै स्थानीयवासी गोमा भण्डारी बताउछिन्, “सडकको दुबैतिर सडकभन्दा माथिसम्म पर्खाल छ, पानीको निकास छैन, स्कूल बस दुर्घटनामा परिसक्यो, हिँड्नसमेत पाएनांै, लौन पत्रकारहरूले सहयोग गर्नुस् ।”
स्थानीयवासी राजकुमार खनाल र सुजित गुरुङले सडकको बिजोग हुँदा पनि जनप्रतिनिधिले नहेरेको र बेवास्ता गरेको गुनासो गर्दै छिटो सडक निर्माणका लागि नेतृत्ववर्गले पहलगर्नुपर्नेमा जोड दिए । स्कूल जाने विद्यार्थीलाई हिँड्न, खानेपानी र खाद्यान्न लानसमेत नसकिएको उनको भनाइ छ ।
वडा न २ बालकोटका वडा सदस्य सुवास कार्कीले जनप्रतिनिधिलाई जानकारी नै नगराइ हचुवाको भरमा काम गर्दा सडक पोखरी बनेको बताउछन् । उनी भन्छन्, “जनप्रतिनिधिलाई जानकारी नै नगराइ काम गरिएका छन् र सडक भन्दामाथि पर्खाल लगाइएका छन्, पर्खाल नभत्काइ हुदैन र ठेकेदारलाई पनि दबाब दिनुको विकल्प छैन ।”
प्रदेश सदस्य शशीजङ्ग थापाले उक्त सडकका लागि ५० लाख बजेट विनियोजन गरिएको र बजेट आएलगत्तै काम शुरु हुने उल्लेख गरे । उक्त सडकमा सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिकाले ग्राबेल हाले पनि वर्षा भएकाले सडकमा समस्या आएको उनको भनाइ छ ।
वडा सदस्य कान्छीमाया श्रेष्ठ वडाको विकासमा कहाँबाट कति बजेट आयो, के÷के काम हुदैछ भन्ने जानकारी आफूहरूले नपाउने गरेको गुनासो गरिन् ।
रासस




प्रतिक्रिया