२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी र पहिरोका कारण बेनी–जोमसोम सडक जीर्ण



 

भदौ १९, म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक जीर्ण बनेको छ । बाढी र पहिरोका कारण ७६ किलोमिटर लामो सो सडकको बेनीदेखि घाँसा खण्ड छियाछिया भएको छ ।

सडक जीर्ण बनेपछि जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको अन्नपूर्ण गाउँपालिका–६ घारका ठाकुरप्रसाद बरुवालले बताए । पच्चीस किलोमिटरको यात्रा गर्न डेढ घण्टा बढी समय लाग्ने गरेको उनको भनाइ छ ।

पाँच घण्टामा पुगिने जोमसोम पुग्न ३३ घण्टा लागेको जोमसोममा कार्यरत कर्मचारी नवराज सुवेदीले बताए । मुस्ताङ भ्रमणमा आउने गरेका पर्यटकको बिचल्ली भएको छ । यात्रुले गाडी धकेलेर हिलोबाट निकाल्नु परिरहेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी सडक विस्तारमा भन्दा पनि सवारीसाधन सञ्चालनमा केन्द्रित छन् । ठेकेदार कम्पनीले बर्खा लागेपछि खन्न थालेका कारण सडक हिलाम्मे भएको हो ।

गलेश्वरदेखि नारच्याङ पुलसम्मको ठेक्का लिएको शर्मा युनाइटेड जेभीले हालसम्म १५ प्रतिशत मात्र काम गरेको छ । सो आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले सडक विस्तारको काम नियमित रूपमा भइरहेको बताए ।

श्रमदानबाट पदमार्ग

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्ग अन्तर्गत करबाकेलीदेखि फुलबारीसम्म पदमार्ग निर्माण गरिएको हो ।

करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाले श्रमदान गरी तीन किलोमिटर लामो पदमार्ग निर्माण गरेको समितिका रवी गर्बुजा पुनले जानकारी दिए । सत्तरी परिवारको बसोबास रहेको काफडाँडाका बासिन्दाले एक एक दिन श्रमदान गरेर नयाँ पदमार्ग निर्माण गरेका हुन् ।

उनीहरुले पुरानो पदमार्गको स्तरोन्नतिसमेत गरेका छन् । पदमार्ग निर्माणपछि यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । गत वैशाखमा करबाकेली पदमार्गको पहिचान गरी नक्साङ्कन गरिएको थियो ।

आरोहण खुला गर्न माग

धवलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहण खुला गर्न यहाँका बासिन्दाले माग गरेका छन् । वडाको हालै बसेको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहण खुला गर्न सरकारसँग माग गरेको हो ।

वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार सरकारले २०५२ सालदेखि गुर्जाका हिमाल आरोहण बन्द गरेको थियो । विसं २०५२ अघिसम्म यहाँका हिमाल आरोहण गर्न पर्यटक आउने गरेका थिए । हिमाल आरोहण खुला गराउन गाउँपालिकामार्फत प्रदेश र सङ्घीय सरकारसम्म पहल गरिने वडाध्यक्ष छन्त्यालले बताए ।

यहाँ गुर्जा पश्चिम सात हजार १९७ मिटर, चुरेन सात हजार ३७५ तथा पुथा सात हजार २७१ मिटर अग्लो हिमाल रहेको छ ।
रासस

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार ००:००