भदौ १७, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घरधनी र व्यवसायीको सम्झौताका आधारमा घरबहाल कर तिर्नुपर्ने बताएका छन् ।
जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौंले आयोजना गरेको ‘व्यवसायी कर, मूल्य अभिवृद्धि करसम्बन्धी अन्तरक्रिया’मा उहाँले सम्झौतामा उल्लेख भएअनुसार नै कर तिर्नुपर्ने उनले बताएका हुन् । “सम्झौतामा जे उल्लेख छ, त्यहीअनुसार घरधनी वा बहालमा बस्नेले घरबहाल कर तिर्नु पछै,” उनले भने ।
शाक्यले गत वर्षको तुलनामा काठमाडौँ महानगरपालिकाले कर घटाएको भन्दै सबै व्यवसायलाई करको दायरामा ल्याउन महानगरपालिका लागेको बताए । उनले स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै व्यवसायको आधारमा महानगरपालिकालाई कर तिर्न आग्रह गरे ।
आन्तरिक राजश्व विभागका निर्देशक सरोज निरौलाले घरवहाल कर र व्यवसायी कर उठाउने अधिकार स्थानीय तहलाई प्रदान गरिएको भन्दै कोही पनि करको दायराबाट भाग्न नमिल्ने बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले मुलुकको आर्थिक समृद्धिको आधार होटल व्यवसाय भएको बताए ।
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले व्यवसायीको व्यवसायलाई सहज बनाउनका लागि महानगरपालिका लागेको भन्दै कर तिर्ने कुरामा व्यवसायीहरु लचिलो हुन आग्रह गरे ।
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष अध्यक्ष मुकुन्द रिजालले संविधानको दायराअनुसार कर निर्धारण गरेको बताउँदै करको दायरा फराकिलो बनाउनका लागि होटल व्यवसायी र महानगरपालिकाबीच सहकार्य जरुरी रहेको बताए ।
कामनपा राजश्व शाखाका प्रमुख राज्यप्रसाद प्रधानाङ्ग, टोखा नगरपालिकाका–९ का वडाध्यक्ष जोगप्रसाद नेपाल, वरिष्ठ अधिवक्ता कृष्ण आङदेम्बेलगायतले स्थानीय तहले तोकेको करको दायरामा आउन सबैलाई आग्रह गरे । जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष शैलेश कार्कीले महानगरपालिकाले व्यवसायीलाई सुविधा दिनुभन्दा पनि कर बढाएको भन्दै व्यवसायीको समस्या बुझ्न आग्रह गरे । रासस
प्रतिक्रिया