१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीको मन्त्रिपरिषद् कागजरहित



भदौ ९, सुर्खेत कर्णाली प्रदेश सरकारले आफ्ना काम कारबाहीलाई कागजरहित बनाएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको काम कारबाहीलाई शीघ्र, व्यवस्थित, पारदर्शी र कम खर्चिलो बनाउन कागजरहित प्रणाली शुरु गरिएको बताए ।

“आन्तरिक सञ्जाललाई चलायमान र व्यवस्थित बनाउन हामी मन्त्रालयमा इन्टरकम जडान गर्छौं,” उनले भने, “कर्णालीमा सञ्चालित आयोजनाहरूको जानकारी लिन फ्रिक्वेन्सी जडान गर्छौं । दौडेर जाने परम्परागत प्रणाली विस्थापित गर्छौं ।”

आन्तरिक मामिला तथा कानून मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा यसअघि सिसी क्यामेरा जडान भइसकेको छ । मन्त्रिपरिषद् मात्र नभई सबै मन्त्रालय कागजरहित र सिसी क्यामेरा जडित हुने शाहीले बताए । सबै विभागीय मन्त्रीलाई ‘कर्णाली प्रदेश मन्त्रिपरिषद्’ लेखिएको लोगो वितरण पनि गरिएको छ ।

अध्ययन समिति गठन

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठन तथा व्यवस्थापन अध्ययन समिति गठन गरेको छ । । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा सबै प्रदेशका सबै मन्त्रालयका सचिव सदस्य रहने गरी समिति गठन गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य सचिव रहने उक्त समितिमा दुई जना विज्ञ थपिने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

उहाँका अनुसार बैठकमा कर्णाली प्रदेश गरिबी निवारण समन्वय समिति (गठन तथा सञ्चालन) निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

गरिबी निवारणका लागी सबै प्रादेशिक निकायसँग केसीको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहने र यसको गुरुयोजना निर्माण थालिने छ ।

प्रदेश खेलकूद विधेयक, २०७५, प्रदेश शिक्षा विधेयक, २०७५ र प्रदेश स्वास्थ्य विधेयक, २०७५ लाई सैद्घान्तिक सहमति प्रदान गर्ने निर्णय भएको केसीले जानकारी दिइन् । रासस 

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ००:००