१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचथरका किसानले पाउँदैनन् कृषी कर्जा 



भदौ ९ पाँचथर । पाँचथर फिदिम बजारमा लामो सयमदेखि व्यवसाय गर्दै आएका भरत अधिकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्नका कृषी कर्जा लिन बैंक धाएको झन्डै डेढ बर्ष पुग्न थाल्यो । तर उनले अझै कर्जा पाउन सकेका छैनन् ।

उनी मात्र होइन, कृषीजन्य उत्पादन बढाउने कामका लागी कर्जा नपाउने उनीजस्ता धेरै छन् । स्थानीय तीर्थ मिश्र, उदय तिम्सिना र इन्द्र गुरुङले पनि संयुक्त लगानीमा दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न सिभिल बैंक धाएको डेढ बर्ष भइसकेको छ । तर कर्जा पाउन सकेका छैनन् ।

प्रशोधन केन्द्र निर्माणका लागी १ करोड ३१ लाख रुपैयाँ लाग्छ । त्यसैले यति ठूलो लगानी व्यक्तिगत प्रयासमा जुटाउन सम्भव छैन । सिभिल बैंकले ५ प्रतिशत ब्याजमा दिने कृषी कर्जा लिन खोज्दा पाउन नसकेको उनीहरूको गुनासो छ ।

“५ वर्षदेखि फिदिम–३ को पौवाभञ्ज्याङमा डेरी तथा चिज उत्पादन केन्द्र चलाईरहेका छौं,” अधिकारीले भने, “त्यही केन्द्रलाई प्रशोधन केन्द्रमा रुपान्तरण गर्ने र त्यसबाट दूध प्याकेजिङ गरेर बजारमा लैजाने हाम्रो लक्ष्य हो ।”

बैंकले कहिले कृषि कर्जामा नीतिगत कार्यान्वयनको अभाव तथा जोखिम बहन गर्न नसक्ने बहाना देखाउँदै पन्छिने गरेको अधिकारीको गुनासो छ ।

तरलता अभावलगायत विभिन्न बहानामा बैंकहरुले कृषि कर्जा दिन मानेका छैनन् । बैंकले न्यूनतम् २० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति छ । तर फिदिममा रहेका डेढ दर्जनभन्दा बढी सरकारी तथा वाणिज्य बैंक र वित्तीय संस्थामध्ये थोरैले मात्र कृषी कर्जा प्रदान गरेका छन् ।

“कृषि क्षेत्रमा लगानी गर्ने बहानामा ट्रयाक्टर र पिकअप खरिदका लागि ऋण दिने गरेका छन्” तीर्थ मिश्रले भने, “सरकारले सरल तरिकाले कृषि कर्जा दिने नीति बनाएको छ । तर कुनै पनि बैंकले नीति पालना गरेका छैनन् ।” नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले कडाई गर्नुपर्ने श्रेष्ठले बताए ।

यस्तै लामो समयदेखि अलैँचीखेती गर्दै आएका पाँचथरको फाल्गुनन्द गाउँपालिक आङसराङका कृषक गणेश मिश्रले अलैँची खेती विस्तार गर्न कर्जा खोज्दै धेरै वटा बैंक धाए तर पाउन मुस्किल भयो ।

अन्तिममा कृषि विकास बैंक फिदिम शाखाबाट ५ लाख ऋण पाए, त्यो पनि १० प्रतिशत ब्याजमा । “धेरै बैंक चाहारियो, तर कृषिमा र त्यसमाथि पनि अलैँची खेती विस्तारका लागि बैंकहरुले पत्याएनन् ।”

उनले अलैँची र अलैंचीको नर्सरी बिक्री गरेर वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । सरल ब्याजमा ऋण प्रवाह गर्नुपर्ने व्यवस्था भए पनि कुनै पनि बैंकले ऋण नदिउको नेपाल अलैँची व्यवसायी महासङ्घ पाँचथरका जिल्ला अध्यक्ष खेम अधिकारीले बताए ।

“अलैँची खेतीको विस्तार, प्रर्वद्धन र विभिन्न प्रजातिको बिरुवा रोप्नका लागि लगानी खोजे पनि अलैंची खेतिका लागी बैंकहरूले ऋण दिन मानिरहेका छैनन्,” अधिकारले भने ।

सरल ब्याजमा ऋण नपाएपछि अहिले कृषकहरूले बजारमा चलेको १० देखि १५ प्रतिशत ब्याजदरमा ऋण लिईरहेका छन् ।

यस्तै राष्ट्रिय कृषक समूह महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोखरेलले पनि बैंकहरूलाई कृषी क्षेत्रमा ऋण दिन बैंकहरूलाई पटक पटक आग्रह गरे पनि बेवास्ता गरेको गुनासो गरे ।

उद्योग वाणिज्य सङ्घ पाँचथरका जिल्ला अध्यक्ष मित्रप्रसाद काफ्लेले कृषि क्षेत्रअन्तर्गत जिल्लामा बढी उत्पादन हुने अलैँची, अदुवा, चिया, दूध लगायतका क्षेत्रमा लगानी बढाउन बैंकहरु गम्भीर हुनुपर्ने बताए ।

तर बैंकहरूले भने कृषि कर्जा उपलब्ध गराइरहेको दाबी गरेका छन् । फिदिममै रहेको गुडबिल फाइनान्सले कूल लगानीको ७० प्रतिशत कृषि क्षेत्रमा ऋण प्रवाह गरेको दाबी गरेका छन् ।

फाइनान्सका शाखा प्रमुख विक्रम तिवारीले भने, “हामीले फिदिम बजारका व्यवसायीलाई भन्दा पनि गाउँका कृषकलाई बढी ऋण प्रवाह गरिरहेका छौं,” उनले भने, “गाउँको अलैँची, अदुवा, कुखुरा, बाख्रा र पशुपालनमा ७० प्रतिशत लगानी गरेका छौं ।”

नेपाल राष्ट्र बैंकको प्रभावकारी सुपरीवेक्षण नहुँदा कृषि क्षेत्रमा बैंकले लगानी गर्न डराइरहेकोे उनको ठम्याई छ । सिभिल बैंक फिदिम शाखाका प्रमुख धु्रव बाँस्कोटाले भने आफूहरूले कृषी क्षेत्रमा २० प्रतिशत लगानी गरेको दाबी गरे ।

“सरल तरिकाले ऋण दिन नसके पनि बजारमा चलेको ब्याजदरका आधारमा कृषी ऋण दिइरहेका छांैं,” उनले भने । सिभिलले कृषकलाई १२ देखि १४ प्रतिशतसम्म ब्याजदरमा ऋण दिइरहेको बताए ।

कृषि विकास बैंकले पनि कूल लगानीको ३३ प्रतिशत रकम कृषि तथा उर्जा क्षेत्रमा लगानी गरेको जनाएको छ । बैंकका शाखा प्रमुख अर्जुन ढुङ्गानाले भने, “कृषि तथा ऊर्जा क्षेत्रमा बैंकले २० प्रतिशत लगानी गर्दा पुग्ने भए पनि ३३ प्रतिशतसम्म लगानी गरेको छ ।”

सरल कृषि कर्जामा व्यक्तिगत रुपमा कृषकलाई रु १० लाखसम्म लगानी गरेको बताउँदै उहाँले भन्नुभयो, “सरलीकृत ब्याजअन्तर्गत कृषकलाई १ करोडसम्म रकम उपलब्ध गराएका छौं ।” अलैँची, अदुवाको भाउमा उत्तारचढाव भइरहने हुँदा यस्तो क्षेत्रमा धेरै लगानी गर्न नसकिएको उनले बताए । रासस

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ००:००