भदौ ८, हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको कामले गति लिन थालेको दाबी गरेका छन् । प्रदेश सरकारले सम्पादन गरेका कार्यबारे जानकारी दिन मुख्यमन्त्री कार्यालय हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पौडेलले यस अघिसम्म कानूनको अभावले काम गर्न समस्या भएको बताए ।
कतिपय कानून जारी भइसकेको र कतिपय जारी गर्ने क्रममा रहेकाले अब प्रदेश सरकारको कामले गति लिने उनको दाबी छ । उनका अनुसार हालसम्म १४ वटा प्रादेशिक कानून प्रदेशसभाबाट पास भइसकेको छ ।
यसैगरि ५ वटा विधेयक प्रदेशसभामा दर्ता गरिएको छ । थप १२ विधेयकका लागि मन्त्रालयहरू र मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति भएको र ५ वटा कार्यविधि मन्त्रिपरिषद् स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ ।
प्रदेश परियोजना बैङ्क निर्माण गर्न अध्ययन भइरहेको जानकारी दिँदै प्रदेशसभामा गत आवको चालू बजेट स्वीकृत गराएको र यस आवकोे प्रदेश सरकारको नीति, कार्यक्रम र बजेट पेश गरी पारित भएको पनि उनले बताए ।
सरकारका तर्फबाट देवानी तथा फौज्दारी संहिता ऐन, २०७४ का सम्बन्धी जानकारी तथा छलफल गरिएको पनि उनले जानकारी दिए । उनले मन्त्रालयहरुबाट यस आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन अघि बढेको जानकारी दिए ।
यस्तै प्रदेश सरकारबाट बजेटमा व्यवस्था गरिएको स्थानीय तहका लागि सशर्त अनुदानको पहिलो किस्ता रकम निकासा गरिसकेको पनि उनले जानकारी दिए ।
उनले प्रदेश सरकारका तर्फबाट पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण कार्य अघि नबढेकाले सम्झौता खारेजीमा लैजाने प्रक्रिया शुरु गरिएको बताए । छरिएर रहेका बस्तीहरुलाई एकीकृत नमूना बस्ती विकासका लागि जग्गा प्राप्तिसम्बन्धी कामको सुरुवात पनि गरिएको छ । रासस




प्रतिक्रिया