६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाटन दरबार क्षेत्रमा रहेको कोत भवनको पुनःनिर्माण अन्योलमा



 

भदौ ६, ललितपुर । पाटन दरबार क्षेत्रमा रहेको कोत भवनको पुनःनिर्माण अघि बढ्न सकेको छैन । भूकम्प गएको तीन वर्ष बित्दासमेत भवनको पुनःनिर्माण अघि नबढेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए ।

पहिले भारतीय दूतावासले यसको पुनःनिर्माणमा चासो देखाएको थियो । भारतीय दूतावासले विभिन्न स्मारकसँगै कोतपाटी निर्माणको नेपाल सरकारसँग सम्झौता गरेको थियो । उनले भने, “दूतावासले अहिलेसम्म निर्माणको काम थालेको छैन ।” दूतावासले गर्ने भनेकाले अरु निकायले पनि कोतपाटीको पुनःनिर्माणमा चासो देखाएका छैनन् ।

भूकम्प गएको तीन वर्षभन्दा बढी समय बित्दासमेत कोतपाटी पुनःनिर्माणको काम अघि नबढ्दा स्थानीयवासी आक्रोशित बन्न थालेको प्रमुख प्याकुरेल बताउछन् । उनी भन्छन्, “सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने जागरुकता स्थानीय बासिन्दामा आएपछि महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा लिन आग्रह गरेका छन् ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर उद्योग वाणिज्य सङ्घलाई पुनःनिर्माणका लागि सहकार्य गर्न छलफल थालेका छन् । पाटन दरबार क्षेत्रमा आउने पर्यटकसँग शुल्क लिँदै आए पनि महानगरपालिकाले यहाँको कुनै पनि स्मारकको पुनःनिर्माणमा भने चासो देखाएको छैन । पाटन दरबार क्षेत्रमा रहेका धेरै स्मारकको पुनःनिर्माण अघि बढे पनि केही स्मारक कसले बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
रासस

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ००:००