८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण ल्याइने



 

३१ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ ।

कालोपत्र भएको सडक छोटो समयमा नै उक्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको हो” यसका बारेका मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेन । सडक विभागअन्तर्गत हाल १४ हजार किलोमिटर सडक निर्माण भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सङ्घीय संसद्, विकास तथा प्रविधि समितिको आजको बैठकमा सो जानकारी दिँदै बनेका सडकमध्ये स्थानीय तह, प्रदेश तथा सङ्घ कुनबाट सञ्चालन, मर्मत गर्ने भन्ने छिट्टै निर्णय हुने बताए । काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी कहिलेसम्म पुरिन्छ भन्ने सांसदको जिज्ञासामा मन्त्री महासेठले भदौ १२ गतेसम्म पुरिसक्ने जवाफ दिए ।

उनले पाँच वर्षभित्रमा सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालले जोड्ने लक्ष्य रहेको जानकारी दिँदै कलङ्की–नागढुङ्गा, चाबहिल साँखु सडक उपलब्ध जमीनका आधारमा नै निर्माण अगाडि बढ्ने नीतिगत निर्णय भएको बताए ।

“सर्वोच्च अदालतबाट विशेष गरी ती दुई सडक विस्तारका क्रममा भएको आदेशलाई पुनरावलोन गर्न सरकारले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिइसकेको छ,” मन्त्री महासेठले भने । मन्त्री महासेठले असार १ गतेदेखि मसान्तसम्म सडक निर्माण गर्न रोकिएको जानकारी दिँदै असारे सडक विकास अब रोकिने जानकारी दिए ।

सांसद बहादुरसिंह लामाले विस्तृत कार्ययोजना बनाएर मात्र सडक निर्माण कार्य शुरु गर्न सुझाव दिँदै पहुँचभन्दा आवश्यकताका आधारमा निर्माण गर्नुपर्ने बताए । सांसद यज्ञराज सुुनुवारले डोजर चालक इञ्जिनीयर हुने र उपभोक्ता समितिका सदस्य निर्देशक भई ग्रामीण तहमा सडक खन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए ।

सांसद गणेश पहाडीले सडक निर्माणमा दीर्घकालीन सोच र अवधारणा बनाउन आवश्यक रहेको धारणा राखे भने सांसद आशाकुमारी विकले पहिरोको कारण दुई महिनाको अवधिमा १८ को मृत्यु भइसकेको हुँदा अवरुद्ध चैनपुर खोर्पे सडक नियमित गर्न माग गरिन् ।

सांसद रङ्गकुमारी शाहीले रेलभन्दा मोटरबाटोको आवश्यकता रहेको चर्चा गर्दै सिमीकोट हिल्सा सडकको ट्रयाक खोल्ने काम कहिलेसम्म सम्पन्न हुन्छ भन्ने प्रश्न गरिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केरुङ काठमाडौं रेल मार्ग, रक्सौल काठमाडौं रेल मार्गका लागि मन्त्रालयले विभिन्न काम अगाडि बढाएको जानकरी दिए ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भदौ महिनाको अन्त्यसम्म काठमाडौं उपत्यकाको सडकको स्वरुपमा परिवर्तन आउने दाबी गरे ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहिबार ००:००