१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोगो अवार्ड हरिबहादुर थापालाई



 

स्थानीय खबर संवाददाता
काठमाडौं, २५ साउन

यस पटकको गोगो फाउन्डेसन अवार्ड अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापालाई प्रदान गरिएको छ । फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले थापालाई थापालाई अवार्ड प्रदान गरेका हुन् ।

सुशासनको क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका व्यक्तिहरूलाई प्रत्येक बर्ष अवार्ड प्रदान गर्दै आएको फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले जानकारी दिए ।

 

“मुलुकको सुशासनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई प्रत्येक बर्ष अवार्ड प्रदान गर्दै आएका छौं,” खड्काले भने, “यस पटक भ्रष्टचार र राज्यशक्तिको दुरुपयोग बिरुद्ध निरन्तर कलम चलाईरहनु भएका हरिबहादुर थापालाई अवार्ड प्रदान गरिएको छ ।”

अवार्ड छनोट समितिका सदस्य तथा बरिष्ठ पत्रकार अध्यक्ष हरिहर बिरहीले लामो समयदेखि भ्रष्टचार र राज्यशक्तिको दुरुपयोगलाई निगरानी गरेर पत्रकारिता गरिरहेकाले अवार्डका लागी थापा योग्य भएको बताए ।

“विगतमा पजेरोकाण्ड, लाउडाकाण्ड, धमीजाकाण्ड देखि नै उहाँले निरन्तर लेखिराख्नु भएको छ,” बिरहीले भने, “मुलुकको सुशासनमा उहाँको ठूलो योगदान छ, त्यसैले उहाँलाई अवार्ड प्रदान गर्ने निर्णय गरेका हौं ।” भ्रष्टाचार, शक्तिको दुरुपयोग, कुशासनको क्षेत्रमा निर्भीक भएर कलम चलाउने पत्रकारका लागी राज्यका निकायहरूबाटै खतरा रहेको बिरहीले बताए ।

कार्यक्रमका मुख्य अतिथी अनुपराज शर्माले पनि कुशासनका बिरुद्ध निर्भीक भएर कलम चलाउने पत्रकार मिडिया हाउसमै असुरक्षित रहेको बताए । “निर्भीक पत्रकारहरूको जिउधनमाथी राज्यकै निकायहरूबाट खतरा छ । त्यसमाथी मिडिया मालिकको स्वार्थ नमिल्दा रोजिरोटी माथी नै खतरा छ,” शर्माले भने ।

यसअघि यो अवार्ड बरिष्ठ मुटुरोग बिषशेज्ञ डा. भगवान कोइराला र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पाएका थिए ।

थापा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हुन् । करिब एक दशक कान्तिपुर दैनिकको सम्पादकसमेत रहेका थापाले भ्रष्टचार, राज्यशक्तिको दुरुपयोगजस्ता बिषयहरूलाई निगरानीमा राखेर कलम चलाउँदै आएका छन् । थापाले रजगज, भ्रष्टचारको शल्यक्रिया, विदेशी सहायताका बिसंगतिलगायतका पुस्तक प्रकाशित गरेका छन् ।

“पुरस्कार आफैंमा राज्यशक्तिको दुरुपयोग गर्ने माध्यम बन्दै आएको छ । विगतमा राजाबाट प्रदान गरिने विभूषण र अहिले राष्ट्रपतिबाट प्रदान गरिने बिभूषण पहुँचवालाको कब्जामा छ,” थापाले भने, “पुरस्कार, अवार्ड वा विभूषण पाउनु ठूलो कुरा होइन । पुरस्कारका पछाडी स्वार्थ लुकेका छन् कि भनेर सचेत हुनु पर्छ ।”

बुद्ध प्रतिमा हस्तान्तरण

फाउन्डेसनले ११ हजार १११ रुपैयाँको नगद पुरस्कारसहित बुद्ध प्रतिमा पनि प्रदान गर्दै आएको छ। बुद्ध प्रतिमा भने प्रत्येक बर्ष अघिल्लो बिजेताले पछिल्लो बिजेतालाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार गत बर्षका अवार्ड बिजेता कुलमान घिसिङले यसपालीका बिजेता हरिबहादुर थापालाई बुद्ध प्रतिमा हस्तान्तरण गरेका छन् । गत बर्ष पहिलो बिजेता डा. भगवान कोइरालाले घिसिङलाई हस्तान्तरण गरेका थिए ।

“मैले गुम्बामा लगेर लामा गुरुबाट बुद्ध प्रतिमामा आत्मा भरेको थिएँ । त्यसपछि मैले एक बर्ष यो प्रतिमालाई घरको पुजा कोठामा राखेँ । तपाइँले पनि प्रतिमामा आत्मा भर्नुहोला,” थापालाई अनुरोध गर्दै घिसिङले भने । घिसिङले जस्तै थापाले पनि अर्को बिजेतालाई प्रतिमा हस्तान्तरण गर्नुपर्ने छ ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ००:००