२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुर्जा–ढोरपाटन पदमार्ग निर्माण



 

सन्तोष गौतम
साउन १७, म्याग्दी ।

जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोला देखि रुघाचौरको उकालो खण्डमा पदमार्ग निर्माण गरेका हुन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको १५ लाख बजेटबाट तीन किलोमिटर ६०० मिटर पदमार्ग निर्माण गरिएको वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए । भीर र जंगलमा नयाँ बाटो निर्माणका साथै पुरानो पदमार्गको मर्मत गरिएको हो । गुर्जाका ५० मजदुरले दुई महिनासम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका थिए भने स्थानीय उपभोक्ताले एक लाख ६० हजार बराबरको श्रमदान गरेका थिए ।

थप दुई किलोमिटर पदमार्ग निर्माण तथा सुधार गरेमा गुर्जादेखि रुघाचौर तथा गुर्जाघाट हुँदै ढोरपाटन घोडा खच्चरसमेत आवतजावत गर्न सकिने वडाअध्यक्ष छन्त्यालले बताए ।

गुर्जा र ढोरपाटन आवतजावतका लागि गोठालाले प्रयोग गर्दै आएको बाटोलाई पदमार्गमा रुपान्तरण गरिएको हो । पदमार्ग निर्माण पछि ढोरपाटन हुँदै गुर्जामा पर्यटक भित्र्याउन सकिने र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताइएको छ । गुर्जादेखि एक दिनमा ढोरपाटन पुग्न सकिन्छ ।

यो क्षेत्र हिमाल अवलोकन, झरना, तालतलैया, लालीगुराँसको जंगल, वनपैदावार र बन्यजन्तु यो पदमार्गको आकर्षण हो । यो पदमार्ग भएर अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जा गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने वडाअध्यक्ष छन्त्याको भनाइ थियो ।

यसैबीच गाउँपालिकाको ११ लाख अनुदान सहयोगमा लुलाङदेखि गुर्जा जाने बाटोमा पर्ने देउरालीको धुरीदेखि गुर्जातर्फ दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । दुई किलोमिटर उकालो बाटोमा ढुंगाको सिंढी बनाएर पदमार्ग निर्माण गरिएको हो ।

खानेपानी आयोजना निर्माण

जिल्लाको मंगला गाउँपालिका–३ खानीगाउँमा ७२ लाखको ललागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । गाउँपालिका अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना मार्फत ७२ लाखको लागतमा बफुवा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिएको हो ।

करिव ५९ घरधुरी लाभान्वित भएको सो आयोजनाका लागि परियोजनाले ४८ लाख ५० हजार सहयोग गरेको र स्थानीय उपभोक्ताले २४ लाख बराबरको श्रम तथा नगद सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालले बताए ।

सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका खानीगाउँका बासिन्दाले घरकै धारामा नियमितरुपमा सफा र स्वच्छ पानी पाउन थालेपछि समयको बचत, सुविधासँगै सरसफाइमा राहत मिलेको छ ।

उक्त परियोजनामार्फत् मंगला गाउँपालिकामा गत आर्थिक वर्षमा चार खानेपानी आयोजना सञ्चालन भएकामा बफुवासहित ४ नं वडा दुर्दीमा अर्को आयोजना समेत सम्पन्न भइसकेको छ ।
यस्तै २ नं वडा कुकुरबिसौना र १ नं वडाको थाइवाङमा सञ्चालित खानेपानी आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको परियोजनाका गाउँपालिका संयोजक गंगाधर गौडेलले बताए ।
रासस

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहिबार ००:००