२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचपोखरीमा केबलकार निर्माणको पहल शुरु



 

साउन १५, चौतारा । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ ।

भोताङको छिञ्जी देउरालीबाट लौरीबिनासम्म राखिने केबलकारको लम्बाइ ६.५ किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । पाँचपोखरी क्षेत्र समुद्री सतहबाट चार हजार १५१ मिटरको उचाइमा पर्दछ ।

केबलकार निर्माण गर्न झण्डै दुई अर्ब लाग्ने अनुमान छ । त्यसका लागि त्रिपक्षीय लगानीको आवश्यक पर्ने हुँदा एक घर एक शेयरको अनिवार्य व्यवस्था गरी गाउँपालिका र निजी कम्पनीलाई आह्वान गरिने केबलकार व्यवस्थापन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष ङिमछिरिङ तामाङले बताए । उनका अनुसार पाँचपोखरी क्षेत्रको पर्यटन व्यवस्थापनको लागि चालू आवमा प्रदेश नं ३ बाट ५० लाख छुट्याइएको छ ।

प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि विभिन्न केबलकार प्रदायक कम्पनीसँग सम्पर्क गरिएको र विशेष गरी कुमारी बैंकले लगानीको लागि अभिरुची देखाएको गाउँपालिकाका प्राविधिक सहायक कुमार बस्नेतले जानकारी दिए ।

हरेक वर्षको जनैपूर्णिमाको अवसरमा भव्य भेला लाग्ने पाँचपोखरीमा यसपालादेखि पोखरी क्षेत्रमै व्यवस्थितरुपमा साउन १ गतेदेखिनै तीन होटेल सञ्चालनमा आएका छन् । अन्य अस्थायी टहरा पनि बनाइएको छ । यार्सा टिप्ने सिजनमा २५ र हाल २० जना विदेशी आठ आन्तरिक पर्यटक पाँचपोखरी पुग्ने गरेको बस्नेत बताउछन् ।

पाँचपोखरी पुग्न काठमाडौंबाट मेलम्ची–तिपेनी हुँदै भोताङसम्म यात्रु बस सञ्चालनमा आएपछि वर्षाको समयमा तिपेनीसम्म मात्र यातायात सञ्चालनमा छ । त्यहाँदेखि भोताङसम्म र भोताङदेखि पाचँपोखरीसम्म भने झण्डै दुई दिनको उकालो हिँड्नु पर्दछ ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलबार ००:००