२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी भत्ता वितरण हुन सकेन



 

२५ असार, बैतडी । बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन् ।

रकम कम विनियोजन भएकाले चालू आवमा समयमै सुत्केरी भत्ता दिन नसकेको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए ।

स्वास्थ्य संस्थामा बच्चा जन्माएबापत एक हजार र चार पटक गर्भजाँच गराएबापत ४०० गरी सुत्केरी आमालाई एकमुष्ट एक हजार ४०० दिइन्छ । सुत्केरी आमालाई समयमै भत्ता दिन नसकिएको सकार स्वास्थ्यचौकीका इञ्चार्ज नरेन्द्रराज भट्टराईले बताए ।

बैतडीमा एक वर्षमा छ हजार बढी आमा सुत्केरी हुने अनुमान छ । सुत्केरी भएबापत आमाले पाउने रकम समयमै नपाउनाले समस्या भएको स्वास्थ्य संयोजकले जनाएका छन् ।

फागुनदेखि सुत्केरी भत्ता वितरण गर्न नसकेको र अब एकैचोटी दिने तयारी गरेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीको भनाइ छ । जिल्लाभरिका स्वास्थ्यसंस्थाबाट पाउनुपर्ने सुत्केरी भत्ता पछिल्लो समयमा रोकिएको स्वास्थ्य संस्थाले जनाएका छन् । हचुवाका भरमा रकम विनियोजन भएकाले अहिले समस्या भएको हो ।

सुरक्षित मातृत्व सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भए पनि यसलाई व्यवस्थित गर्न नसक्नु सरकारी कमजोरी रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ।
रासस

प्रकाशित मिति : २५ असार २०७५, सोमबार ००:००