३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो



 

१९ असार, काठमाडौं । रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ ।

अबको केही दिनमानै पुनःनिर्माणको काम शुरु हुने कामपाले जानकारी दिएको छ । १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री सबै हटाइएको हो ।

भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इञ्जिनियर राम थापाले जानकारी दिए ।

थापाले भने, “आगामी आवको शुरुवातमा नै काम शुरु गरेर त्यसै आवमा नै सक्नेगरी कामपाले काम अघि बढाउने छ, सबैसंग सल्लाह भइसकेको हुनाले यस अघि जस्तो काम रोक्ने र विरोध हुँदैन तोकिएकै समयमा काम सम्पन्न हुन्छ ।”

पुरातत्व विभागबाट सहमति आएसंगै पुनःनिर्माणको काम शुरु हुने पनि कामपाले जानकारी दिएको छ । त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ ।

यसअघि कामपाले आगामी जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने जानकारी गराएपनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । २०७२ सालको भूकम्पको कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।

पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न अर्थात नेसं ७८९ (विसं १७२५) मा भएको थियो र नेसं ७९० (विसं १७२७/इसं १६७०) मा शिलापत्र राखिएको थियो । यसलाई नेपाल संवत् ८११ इसं १६११ मा न्हुरपुखुर (न्हुपुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकुटशैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्र (स्केच) बाट पनि प्रष्ट हुन्छ ।
रासस

प्रकाशित मिति : १९ असार २०७५, मंगलबार ००:००