३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिकलसेल नियन्त्रण गर्न स्थानीय तहको भूमिका



 

१४ असार, दाङ । विशेष गरी थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियाको पहिचान गरी नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

दंगीशरण गाउँपालिका वडा नं ३, ४ र ५ का बासिन्दालाई लक्षित गरी बुधबार भएको सिकलसेल एनिमिया रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् ।

दाङका दशवटै स्थानीय तहले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ थियो । थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सिकलसेल एनिमिया रोगको पहिचान गरी न्यूनीकरण गर्न गाउँपालिकाले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानका सहायक डीन डा राजेश्वर अर्याल, दंगीशरण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्णबहादुर चौधरी, हेकुली स्वास्थ्य चौकीका इञ्चार्ज टेकबहादुर खत्री, सिएमए संघ, दाङका अध्यक्ष मुकेशकुमार बुढाथोकी लगायतले रोगको न्यूनीकरणमा सबैको भूमिका हुनुपर्ने बताएका थिए ।

हेकुली स्वास्थ्य चौकीमा भएको कार्यक्रममा वडा नम्बर ३, ४ र ५ का गरी ५० जनाको सहभागिता रहेको थियो । सिकलसेल एनिमियाको परिचय, लक्षण, परीक्षण, उपचार लगायतका विषयमा जानकारी गराइएको थियो जसको प्रशिक्षकमा डा राजेश्वर अर्याल, ल्याब टेक्निसियन विजयकुमार चौधरी, रमेश पछलदंग्या थारु रहेका थिए ।

अपांगता भएकालाई बाख्रा वितरण

यसैबीच, यहाँ अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । अपांग मानवाधिकार एवं सरोकार मञ्च नेपाल, दाङले बुधबार एक कार्यक्रमको आयोजना गरी २० जना अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको आर्थिक सहयोगमा घोराही ३ र ४ का अपांगता भएका व्यक्तिलाई प्रतिव्यक्ति दुईवटाको दरले बाख्रा वितरण गरिएको मञ्चका उपाध्यक्ष भविसरा घर्तीले बताए । प्रदेश नं ५ का सांसद रेवतीरमण शर्माले उनीहरुलाई बाख्रा हस्तान्तरण गरेका थिए ।

उनले यसबाट अपांगता भएका व्यक्तिको जीविकोपार्जनमा सहयोग पुग्ने बताए । मञ्चले यसअघि पनि डिडिपी–यूकेको आर्थिक सहयोगमा दाङका २०० अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरेको थियो ।
रासस

प्रकाशित मिति : १४ असार २०७५, बिहिबार ००:००