Logo

बुटवल उपमहानगरपालिकाको आधुनिक भवन बन्दै



 

युवराज पाण्डे
८ असार, बुटवल ।

बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गर्ने भएको छ । करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण हुने सो भवनमा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लक रहनेछन् ।

पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले बताए । बेसमेनसहित चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको छ ।

तर निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा आगामी २०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

उक्त भवनमा रहेको अन्डरग्राउण्डमा १०६ वटा मोटरसाइकल, ३५ वटा कारलाई पार्किङ गर्न मिल्नेछ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटै सिँढी रहने इन्जिनियर गौतम रौनियारले जानकारी दिए ।

पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले आज उक्त भवनको शिलान्यास गरे । सो अवसरमा उनले बुटवलको बुद्धकालीन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताउँदै भवनको निर्माण कार्य समयमै सक्न आग्रह गरे ।

निर्माण कार्यमा नागरिकको निगरानी र खबरदारी जरुरी रहेको बताउँदै उनले संविधानले दिएको अधिकारको प्रयोग गरेर नागरिकसंगको छलफलमा योजना बनाउन सुझाव दिए । नेता पौडेलले तीन तहको सरकारको प्रयासमा विकासको लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै विकासका लागि सबैको सोचमा एकरुपता कायम हुनुपर्ने बताए ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलवासीको संकल्पअनुसार आवधिक र दीर्घकालीन महत्वका काममा उपमहानगरपालिका केन्द्रित रहेको उल्लेख गर्दै बुटवलको विकासमा सबैसंग हातेमालो गरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य लीला गिरी, नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद वामदेव क्षेत्री, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवराज गिरी लगायतले तोकेको समयमा नै निर्माणकार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

विसं २०१६ मा स्थापना भएको बुटवलको हालको मूल भवन भने २०३५ सालमा निर्माण भएको हो । यो मूल भवनसहितका कार्यालय भवन प्रायः जीर्ण र गएको भूकम्पले चर्किएको अवस्थामा छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्