१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्भावित महामारी रोक्न स्थानीय तह र जनस्वास्थ्यबीच अन्योल



 

६ असार, काठमाडौं । संघीयता लागू भइसकेपछि जिल्ला जनस्वास्थ्य कार्यालय खारेज गर्ने निर्णयले वर्षायाममा फैलन सक्ने महामारी रोक्न कसले तयारी गर्ने भन्ने अन्योलता देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै पनि सबै जिल्लाका जनस्वास्थ्य कार्यालयलाई तयारी गर्न निर्देशन हुने गर्छ भने जिल्लामा पूर्व तयारीका लागि बजेट विनियोजन गरिएको हुन्छ । तर यसपालाको स्वास्थ्यको सबै बजेट स्थानीय तहमा गएको छ ।

यो वर्ष भने स्थानीय तह र प्रदेशलाई सबै अधिकार दिइएको र जिल्ला जनस्वास्थ्य कार्यालय असारमा खारेज गर्ने निर्णयले पूर्वतयारी प्रभावित बनेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख इन्द्रदेव यादवले स्वास्थ्यको सबै बजेट स्थानीय तहमा गएकाले त्यसको तयारी गर्न समस्या उत्पन्न भएको बताए ।

उनले भने, ‘‘अहिले जनस्वास्थ्य कार्यालयमा बजेट छैन, स्वास्थ्यका कर्मचारी पनि हाम्रो निर्देशनमा छैनन्, एकदम समस्या भएको छ, कसले गर्ने भन्ने अन्योलताको स्थिति छ ।’’

उनले जिल्ला जनस्वास्थ्यमार्फत जिल्लाका सबै स्थानीय पालिकाहरुका प्रतिनिधिहरुलाई महामारी अभिमुखीकरण दिइसकिएको र आफ्नो तहबाट चिकित्सकीय टीम, औषधिको व्यवस्था गर्ने काम शुरु गरिएको बताए ।

महामारी रोकथाम र व्यवस्थापनको जिम्मा पाएको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने महामारी रोक्न तयारीका लागि निर्देशन दिइसकेको जनाएको छ ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भण्डारीले जनस्वास्थ्य खारेज हुने भयो भनेर महामारीको पूर्वतयारी रोक्न नमिल्ने बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा केदार सेन्चुरीले सबै जिल्लामा सम्भावित महामारी रोक्न जनशक्ति परिचालन, औषधि व्यवस्था लगायतका तयारी थाल्नका लागि निर्देशन दिइसकिएको जानकारी दिए ।

उनले असारसम्म जनस्वास्थ्य रहने भएकाले अन्योलता भएपनि जिल्लाका स्वास्थ्यकर्मी, स्वास्थ्यमा काम गर्ने सघंसंस्था विश्वस्वास्थ्य संगठन, युनिसेफ लगायतसंग छलफल भइरहेको बताए ।

उनले भने, ‘‘औषधिको हकमा पनि जिल्लामा सीमित भएमा आवश्यक परेको बेलामा तुरुन्त औषधि उपलब्ध हुन्छ, केन्द्रमा पनि महामारीका समयमा प्रयोग हुने औषधिको मौज्जात रहने भएकाले समस्या हुदैँन ।’’

महामारीबाट बच्न पानी उमालेर खाने, सन्तुलित भोजन खाने, चर्पीमा दिसापिसाब गर्ने गराउने, साबुनपानीले हात धुने, नियमित व्यायाम गर्ने, सागसब्जी राम्रोसंग पखालेर पकाउने, कम मासु खाने, मदिरा र धूमपान सेवन पूर्णरुपमा बन्द गरी शारीरिक स्वास्थ्यता कायम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
रासस

प्रकाशित मिति : ६ असार २०७५, बुधबार ००:००