१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोका कारण महाशिलाका ८ घर विस्थापित



 

५ असार, फलेवास– पर्वत । लगातारको वर्षासंगै गएको पहिरोका कारण यहाँको एक विकट गाउँका आठ घर विस्थापित भएका छन् ।

पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीस्थित कुसुनडाँडाका ८ घर दीर्घकालीनरुपमै विस्थापित हुने भएका हुन् । गएको शनिबार राति परेको वर्षासंगै गएको पहिरोमा परी तीन घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बाँकी पाँच घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए ।

हिउँदमा खनिएको मोटरबाटोका कारण पहिरो जाँदा बस्तीनै जोखिममा परेको हो । पहिरोले स्थानीय शिक्षक छवि अधिकारीको गोठ र मोटरसाइकलमा पूर्ण क्षति भएको थियो । पहिरोको जोखिममा रहेका छवि अधिकारीसंगै विष्णु अधिकारी र मेघनाथ अधिकारीलाई तत्काल अस्थायी टहरा बनाउनका लागि जस्तापाता र नगद सहयोग गरिएको छ । अन्य ५ घर पनि दिउँसोमा सोही घरमा बस्ने र वर्षा भएपछि अन्यत्रै आफन्तकोमा आश्रय लिएर बस्ने गरेका छन् ।

पहिरोको जोखिममा रहेका आठ घरनै दीर्घकालीन बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले गाउँपालिकाले तत्काल उपयुक्त जग्गा व्यवस्थापन गर्न थालेको उच्चैले जानकारी दिए । तत्काल तीन घरका लागि गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न सहयोग गरिसकेको र बाँकी परिवारका लागि केही दिनमै जग्गा व्यवस्थापन गरिने समेत उनले जानकारी दिए ।

भिरालो जग्गामा रहेको बस्ती वर्षेनी पहिरोको जोखिममा पर्दै आएको थियो । पहिरोका कारण उक्त स्थानमा १ करोडभन्दा बढीको क्षति पुगेको अनुमानसमेत गरिएको छ ।

बस्तीनै जोखिममा परेर स्थानान्तरण हुनुपरेपछि ठूलो समस्या परेको पीडित छवि अधिकारीले गुनासो गरे । सयौँ वर्षदेखि बसोबास गर्दै आएको ठाउँ छोड्नुपर्दा निकै निरासा छाएको उनले बताए । जीवनभरको कमाइ खर्चिएर बनाएको घर छाडेर नयाँ ठाउँमा पुनः धेरै खर्चिएर घर बनाउन आर्थिक बोझ थपिएको उनको गुनासो छ ।

त्यस्तै, अर्का पीडित मेघनाथ अधिकारीले पनि गाउँपालिकाले तत्कालका लागि अस्थायी टहरा बनाउन सहयोग गरेपछि दीर्घकालीन बास बनाउनका लागि आर्थिक अभाव भएको गुनासो गरे । उनले गाउँपालिकालाई आवश्यक रकमको व्यवस्थापन गरिदिन आग्रह गरे ।

गएको शनिबार आएको वर्षाका कारण महाशिलामा सबैभन्दा बढी क्षति पुगेको थियो । वर्षाका कारण गाउँपालिकाका सबैजसो सडक अवरुद्ध भएको पनि प्रवक्तासमेत रहेका जीवनविक्रम उच्चैले जानकारी दिए । उनले सबै सडक खुलाउनका लागि डोजर र एस्काभेटर परिचालन गरिएको र आजदेखि सबै सडक सुचारु गरिने समेत जानकारी दिए ।

सडक अवरुद्ध हुँदा गाउँपालिकादेखि सदरमुकाम कुश्माबजार आउने र प्रदेश राजधानी पोखरा जाने सडकसमेत अवरुद्ध भएका छन् ।
रासस

प्रकाशित मिति : ५ असार २०७५, मंगलबार ००:००