१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बौद्ध स्तुप जाने सडक धान रोप्ने खेत बन्यो



 

पूर्णप्रसाद मिश्र
४ असार, काठमाडौं ।

असारको महिना चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक पेटीबाट हिँड्दा लाग्छ धान रोप्न तयार पारिएको यो एउटा लामो गरो हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप क्षेत्रमा मासिक हजारौँ विदेशी पर्यटक आउँछन् । सम्पदा अघिको सडकको यो अवस्था हुँदा पर्यटकमार्फत विश्वव्यापी रुपमा के सन्देश जाला ? त्यसको हेक्का सरोकार भएका निकायले राखेको देखिँदैन ।

चाबहिल–चुच्चेपाटी सडकको अवस्था पनि यस्तै थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला रातारात यो सडक तयार भएको थियो । त्यो गतिमा काम भएको भए यो सडकको अवस्था यस्तो नहुने स्थानीय पार्वती तामाङ बताउछिन् ।

‘साइड क्लियर’ भएका स्थानमा पनि काम भएको छैन, निर्माण व्यवसायी काम गर्न साइड नै नभएको रटान लगाइरहेका छन्, खाली भएको स्थान जति बनाइदिए पनि सवारी र पैदलयात्रुका लागि सहज हुने थियो” उनले भनिन् ।

सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन । भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रा लि संग सम्झौता भएको थियो ।

अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

बौद्ध पीपपलबोट सडक किनारमा कपडा सिलाउने व्यवसाय गर्दै आएका दैलेखका टेकबहादुर नेपाली एक हप्ता अघि गिट्टी मिसिएको माटो हाले पनि पहिलेकै अवस्थामा सडक पुगेको बताउछन् । सडकमा जमेको पानी सवारी छचल्काउँदा निथ्रुक्क भएर भिजिने उनको गुनासो छ ।

जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ । दायाँ भागमा सडक बन्नु अघिको राजकुलो मिचेर व्यक्तिले जग्गा धनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ । आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ पुरानो र नयाँ नापीका बारेमा विवाद भएर घर नभत्केको बताउछन् । जोरपाटी ओरालोसम्म यो विवाद छ ।

बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल लिकेज भएर सडकमा दह जम्ने गरेको छ । वर्षात्का समयमा बौद्ध क्षेत्रमा सवारी चल्दैन । खानेपानी र ढल चुहिँदा यो क्षेत्रको सडकमा धेरै खाल्डाखुल्डी छन् । अझ दायाँबायाँ भत्काउँदै गरिएका घरको धुलो र हिलोले सडकमा निस्कन नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन् ।

जोरपाटी–थली–साँखु सडक पनि उस्तै

वाग्मती पुलबाट थलीसम्मको २.४ किमी सडक विस्तार तीन वर्षमा ४० प्रतिशतमात्र भौतिक प्रगति भएको छ । २०७२ असोज १३ गते नै सम्झौता भएको यो सडक आगामी पुस १४ सम्म विस्तार सक्नुपर्छ । बज्रगुरु–च्याङ्मिला–खानी जेभीले काम गरिरहेको यो खण्डमा दक्षिणढोकाका २३ घरको अन्तरिम आदेशका कारण घर भत्काउन नसकिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

मूलपानी क्षेत्रमा सडकको अधिकार क्षेत्रको विवाद छ । यो क्षेत्रमा पनि विद्युत् र टेलिफोनको तार हटेको छैन । मूलपानीमा वनको रुखका कारण समेत काममा ढिलाइ भएको छ । थलीबाट खुलालटारसम्म तीन किमीको खण्डमा काठमाडौं उपत्यका विकास प्राधिकरणले घर भत्काउन क्षतिपूर्ति दिन ढिलाइ गरेको आयोजनाले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने क्षतिपूर्ति दिन करोडौँ लाग्ने भए पनि सरकारले बजेट उपलब्ध गराउन नसकेको बताउछन् । थली क्षेत्रका ३८ घरले सर्वोच्च अदालतबाट अन्तरिम आदेश गराएकाले काम हुन सकेको छैन ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकमा पनि मुद्दाकै कारण विस्तार हुन नसक्दा वर्षामा हिलो र हिउँदमा धुलोले यात्रा कठिन छ ।
रासस

प्रकाशित मिति : ४ असार २०७५, सोमबार ००:००