३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीद्धारा ३६४ स्थानीय तहसँग समझदारी

लेखक स्थानीय खबर १४ कार्तिक २०७५, बुधबार २ मिनेट पढाइ

 

कात्तिक १४, काठमाडौं । नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन देशभरका ७५३ मध्ये ३६४ स्थानीय तहसँग समझदारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कात्तिक ११ गते शुभारम्भ गरिएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई देशव्यापी लैजाने उद्देश्यका साथ ३६४ स्थानीय तहसँग समझदारी गरेको जानकारी दिइयो ।

जसमा उपत्यकाभित्रका महानगरपालिकाका प्रमुखसँग महानगरीय प्रहरी कार्यालयका प्रमुख, उपत्यकाबाहिरका महानगरपालिका प्रमुखसँग सम्बन्धित प्रदेशका प्रहरी प्रमुख तथा उपमहानगर, नगरपालिका र गाउँपालिकामा सम्बन्धित जिल्लाका प्रहरी प्रमुखले समझदारी गरेका थिए ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त अभियान स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसंग पु¥याउने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले तीन महीनाको गृहकार्यबाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै यसको कार्यान्वयनमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

“अपराधमा संलग्न भएकामध्ये अधिकांश युवा रहेका छन्, युवामा यस कार्यक्रम लैजान नेपाल प्रहरीले अभियानमार्फत सरोकारवाला निकायसँग मिलेर प्रभावकारी भूमिका खेल्नेछ,” उनले भने ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रवक्ता सुवेदीले जानकारी दिए । अभियानलाई दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गरिने उनको भनाइ थियो ।

अभियानमा ७५३ स्थानीय तह, १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न रहने प्रहरीले जनाएको छ ।

कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति, स्थानीय तहमा समुदाय–प्रहरी पालिका समिति, वडामा समुदाय–प्रहरी वडा समिति, गाउँमा समुदाय–प्रहरी टोल समिति र विद्यालयमा समुदाय–प्रहरी विद्यालय समिति निर्माण गरिएको प्रवक्ता सुवेदीको भनाइ छ ।

साझेदारीअन्तर्गत अभियान सञ्चालन गरिने भएकाले शुरुमा प्रहरीले दुई करोड ४९ लाख ५४ हजार ५०० तथा एक वर्षका लागि १९ करोड ५६ लाख २२ हजार ३०० विनियोजन गरेको छ ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।