३ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गलकोट नगरपालिकाः वडा तहमा नगर गौरवका योजना

लेखक स्थानीय खबर २७ आश्विन २०७५, शनिबार २ मिनेट पढाइ

 

असोज २७, बागलुङ । गलकोट नगरपालिकाले वडा तहमा नगर गौरवका योजना अघि बढाएको छ । पूर्वाधार विकासमा ती योजना केन्द्रित छन् । सडक पहिलो प्राथमिकतामा छ । ११ वटै वडामा सञ्चालन हुने गौरवका योजना बहुवर्षीय हुन् ।

चालु आवमा अधिकांश योजनाको लागि ५० लाख बजेट छुट्याइएको छ । केहीमा ४० र ५५ लाख बजेट छ । नगरसभाले गौरवका योजना र बजेट पारित गरेको थियो ।

नगरको दिगो विकासका लागि गौरवका योजना ल्याइएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । “बजेटलाई मुख्य योजनामा केन्द्रित गरेका छौँ” उनले भने, “आवश्यकता र दीर्घकालीन महत्व हेरेर योजना छनोट भएको छ ।” समृद्ध गलकोटको लक्ष्य हासिल गर्न गौरवका योजनाले आधार तयार गर्ने ठानिएको छ ।

गौरवका योजनामा सडक कालोपत्रे, स्वास्थ्यचौकी, नगर सभाहल निर्माण, पर्यटकीय पूर्वाधार विकास लगायत छन् । वडा नं १ दुदिलाभाटीमा स्वास्थ्यचौकी निर्माणको योजना अघि बढेको छ । २ नं मा नगर सभाहल निर्माणका लागि ५० लाख बजेट छुट्याइएको छ । त्यस्तै वडा नं ३ मा सडक र छाँगावरोहण ‘क्यानोनिङ’ का लागि ५५ लाख, ४ मा डाँडाखेत–चमुवा सडक स्तरोन्नतिमा ५० लाख बजेट छ ।

वडा नं ५ को हरिचौर बजारको नाली सुधार सडक कालोपत्रेका लागि ५० लाख, ६ को हटिया–हरिचौर जोड्ने सडक सुधारमा ५० लाख, ७ मा मल्म–पाण्डवखानी सडक स्तरोन्नतिका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै वडा नं ८ मा वडा कार्यालय निर्माणको लागि ५५ लाख, ९ मा वडा कार्यालयको लागि जग्गा व्यवस्थापनमा ४० लाख बजेट छ ।

भौतिक पूर्वाधारसँगै सामाजिक विकासका क्षेत्रमा पनि नगरपालिकाले लगानी बढाएको छ । आवश्यकताका आधारमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ लगायतका क्षेत्रमा यथोचित कार्यक्रम बजेट ल्याइएको छ ।

सामाजिक सुरक्षा कार्यक्रममा पनि नगरपालिकाले केही नयाँ सुविधा थप गरेको छ । यसै आवदेखि ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक तीन हजारका दरले पर्व भत्ता दिन थालिएको छ ।
रासस

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।