५ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपालिकाकै न्यायिक समिति निष्क्रिय

लेखक स्थानीय खबर १७ आश्विन २०७५, बुधबार २ मिनेट पढाइ

 

असोज १७, काठमाडौं । स्थानीय तहका समस्या हल गर्न संविधानले न्यायिक समितिको परिकल्पना गरेको छ तर स्थानीय निकायमा रहेका त्यस्ता न्यायिक समिति अझै क्रियाशील हुन सकेका छैनन् । त्यस्ता समितिमा उजुरीसमेत निकै कम पर्ने गरेका छन् ।

देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा निकै न्यून उजुरी पर्ने गरेको महानगरपालिकाले जनाएको छ । सङ्घ–संस्थासँग सम्बन्धित उजुरी पर्ने गरेका भए पनि घरेलु तथा महिला हिंसाका उजुरी अहिलेसम्म दर्ता भएका छैनन् ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी महानगरपालिकाको न्यायिक समितिमा नपरे पनि सङ्घ–संस्थाका उजुरी बढी मात्रामा पर्ने गरेको उपनिर्देशक विमला कोइरलाले बताइन् । महानगरपालिकाका अनुसार गत आर्थिक वर्ष ०७४/७५ मा मात्रै सङ्घ–संस्थाबाट ३६० उजुरी महानगरपालिकाको न्यायिक समितिमा दर्ता भएको छ ।

चालू आवमा पनि उजुरी आइरहेका छन् । महानगरपालिकाका अनुसार, चालू आव ०७५/७६ को पछिल्लो तीन महीनामा ३५ उजुरी दर्ता भएका छन् । स्थानीय तहका न्यायिक समिति सक्रिय नबनेको चिन्ता र गुनासो व्याप्त भइरहेका बेला परेका उजुरीको सुनुवाइ पनि निराशाजनक छ ।

महानगरपालिकाको तथ्याङ्क अनुसार ३६० उजुरी परेकोमा ५७ मात्र सुनुवाइ भएको छ । बाँकी ३०३ उजुरीमाथिको सुनुवाइ अझै हुन सकेको छैन ।

समयमा नै उजुरीको फछ्र्योट नहुँदा भर्खरै अभ्यासमा आएको न्यायिक समितिको प्रभावकारिता कमजोर हुने हो की भन्ने चिन्ता व्यक्त हुन थालेको छ । महानगरपालिकामा आउने उजुरी सबै लिखितरुपमा नै आउने गरेका छन् ।

आव २०७५/७६ मा मात्रै ३५ उजुरी दर्ता भइसकेको छ र सबै प्रक्रियामा जाने क्रममा रहेको छ । न्यायिक समितिमा दर्ता हुने उजुरीमा धेरैजसो बाटो, घर, सम्पदासँग सम्बन्धित छन् ।
रासस

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।