७ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स

लेखक स्थानीय खबर २० भदौ २०७५, बुधबार २ मिनेट पढाइ

 

भदौ २०, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ ।

स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न विभागले मोबाइल एप्स निर्माण गरेको हो ।

विभागले धुलिखेल नगरपालिकाको अनुरोधमा मोबाइल एप्स निर्माण गरेको थियो । उक्त एप्स सूचना सम्प्रेषणमा प्रभावकारी देखिएको भन्दै मन्त्रालयले अन्य स्थानीय तहलाई पनि प्रयोगका लागि अनुरोध गरेको हो ।

एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली ९जीआईएस०, जनप्रतिनिधिको तस्वीरसहितको सम्पर्क विवरण, सबै वडाहरुको नक्शासहितको वस्तुगत विवरण र सम्पर्क विवरण, ऐन कानून निर्देशिका, आपतकालीन नम्बर र योजना तथा परियोजनाका बारेमा जानकारी राख्न सकिनेछ ।

स्थानीय तहले आफ्ना वेबसाइटमा राखेका सम्पूर्ण जानकारी एप्समार्फत नै पाइनेछ । एप्स प्रयोगकर्ताले स्थानीय तहले नागरिक बडापत्रअनुसार प्रदान गर्ने सम्पूर्ण सेवाको विवरण एकै क्लिकमा प्राप्त गर्नेछन् ।

सेवा प्राप्त गर्न लाग्ने समय, जिम्मेवार अधिकारी, सेवा दिने कार्यालय, सेवा शुल्क, आवश्यक कागजात र प्रक्रिया तथा नमूना फारामसमेत एप्समार्फत जानकारी मिल्ने मन्त्रालयका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले जानकारी दिए ।

कार्यक्रम तथा परियोजनाको विवरण प्राप्त गर्न, अध्ययन र सुरक्षित राख्न सहयोग मिल्ने छ । स्थानीय तहअन्तर्गत रहेका महत्वपूर्ण स्थान जस्तै अस्पताल, शैक्षिक संस्था, पर्यटनस्थल आदिको विवरण पनि एप्समार्फत थाहा पाउन सकिनेछ । स्थानीय तहले कुनै प्रसङ्गमा जनतासँग जनमत समेत लिन सक्ने गरी एप्सको विकास गरिएको छ ।

एप्स प्रयोगकर्ताले स्थानीय तहअन्तर्गतका समस्या र सुझाव सम्बन्धित निकायमा दर्ता गराउन सक्नेछन् । एप्समार्फत दर्ता भएको समस्या जिम्मेवार कर्मचारीले हेरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन सकिनेछ ।
रासस

प्रकाशित मिति : २० भदौ २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।