Logo

नेपालको सबैभन्दा ठूलो गाविस बझाङको काँडाः यस्तो छ अबस्था



नक्सा स्रोतः स्थानीय तह पुनर्संरचना आयोग 
  • रञ्जित तामाङ

काठमाडौं, २ कात्तिक 
क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो गाविस बझाङको काँडा । यसअघि खासै चर्चामा नरहेको यो गाविस स्थानीय तहको पुनर्संरचना प्रक्रियासँगै चर्चामा छ । काँडा गाविसको क्षेत्रफल राजधानीका ३ जिल्लाको भन्दा ठूलो छ । 
स्थानीय तह पुनर्संरचनाका अनुसार काठमाडौं, भक्तपूर र ललितपूरको समग्र क्षेत्रफल ९ सय ३२ बर्ग किलोमिटर छ । काँडा क्षेत्रफल भने १ हजार ४६४ बर्गकिमी छ । बझाङका स्थानीय विकास अधिकारी (एलडीओ) प्रेमराज गिरीका अनुसार त्यत्ति ठूलो गाविसमा जनसंख्या भने २ हजार १७४ मात्रै छ । जबकि तीन जिल्लाको समग्र जनसंख्या २५ लाख १७ हजार छ । 1
“सइपाल हिमालको क्षेत्रमा पर्ने काँडा गाविस तिब्बतको ताक्लाकोट जाने बाटोमा पर्छ,” गिरीले भने, “उच्च हिमाली र पहाडी भूभाग रहेको काँडाबाट सदरमुकाम आइपुग्न ४ दिन लाग्छ ।” गिरीका अनुसार काँडाबासीले थर बोहोरा क्षेत्री लेखे पनि उनीहरूले लोपोन्मुख धुल्याल भाषा बोल्छन् । औसत राष्ट्रिय गरिबी दर २५.३ प्रतिशत छ भने काँडाको गरिबी दर ५८.१४ छ ।  


एउटै स्थानीय तह बन्ने सम्भवाना 
पुनर्संरचना आयोगले ५ सय ६५ स्थानीय तह तोक्न घोषणा गरेपछि अहिले भएका गाविस र नगरपालिकाहरू गाभ्नु पर्ने बाध्यता थियो । असोज ९ गतेको दलीय सहमतिले इलाकालाई आधार मानेर पुनर्संरचना गर्ने भनिए पनि गाभ्नै पर्ने बाध्यता छ । 
आयोगको दिएको मापदण्डमा हिमालमा गाउँपालिका बन्न  कम्तिमा १५ हजार जनसंख्या आवश्यक पर्छ । स्थानीय तहको क्षेत्रफल अधिकतम् १ हजार ३ सय बर्ग किमी हुनसक्ने व्यवस्था छ । जनसंख्या नपुगे पनि क्षेत्रफलको मापदण्ड पुग्ने भएकाले काँडालाई एउटै स्थानीय तह बनाउन सकिने आयोगका सदस्य माधव अधिकारीले बताए । 

“आयोगले काँडाजस्ता स्थानीय तहलाई अपवादमा राखेको छ,” अधिकारीले भने, “जनसंख्या नपुगे पनि क्षेत्रफल पुगेकाले एउटै स्थानीय तह बन्न सक्छ ।” असोज ९ गते इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्ने दलीय सहमति पछि एउटै स्थानीय तह बन्ने सम्भावना बढेको छ ।

इलाकालाई आधार मान्दा ५ सय ५६ बाट बढ्ने निश्चित छ । संख्या बढाएपछि गाविस गाभ्नु पर्ने बाध्यता कम हुन्छ । “हामीले भदौ १४ गते नै काँडालाई एउटै स्थानीय तह बनाउन आयोगलाई प्रस्ताव पठाएका छौं,” एलडीओ गिरीले भने, “काँडामा अर्को गाविस गाभ्ने हो भने पुनर्संरचनाको अर्थ रहन्न ।”

प्रतिक्रिया दिनुहोस्