१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जग्गा धनीपूर्जा नहुँदा काभ्रेको भुम्लुटार र फलाँटे गाविसमा अनुदान सम्झौता हुन सकेन



  • स्थानीय खबर संवाददाता

काभ्रे, ९ मंसिर
गत वर्षको भूकम्पमा घरबास गुमाएका मध्ये धेरै काभ्रेलीले घर बनाउन पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पाइसकेका छन् । 
तर त्यहि भूकम्पमा घरबास गुमाएका काभ्रे कोशीपारीमा पर्ने फँलाटे र भुम्लुटार गाविसका बासिन्दाले अनुदान सम्झौतासमेत गर्न पाएका छैनन् । 
अनुदान सम्झौताका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा धनी पूर्जा अनिवार्य चाहिने व्यवस्था गरे पछि फलाँटे र भुम्लुटारका भकम्पपिडितले अनुदान सम्झौता गर्न नपाएका हुन् ।  
यो दुई गाविस झण्डै ४ दशक देखि यी दुई गाविसका नागरिक जग्गाधनी पूर्जाविहिन छन् । सीमा विवादका कारण जग्गाधनी पूर्जा पाउनबाट बञ्चित बनेका यहाँका स्थानीयले विवाद समाधान गरिदिन पटक–पटक आग्रह गर्दा पनि समस्या अझै सुल्झिएको छैन ।
दुई गाविसबीच जग्गा नापजाँच गर्ने सहमति भएपनि सरकारी पक्षबाट कुनै पहल नभएको स्थानीयहरूले बताएका छन् । 
“जिल्लाका अधिकांश गाविस र नगरपालिकामा आवास अनुदान सम्झौता भएर धेरैले जग हाल्न थालिसकेका छन्” जिल्ला आयोजना कार्यान्वयन इकाई संयोजक तथा काभ्रे जिविसका योजना अधिकृत धोलकराज ढकालले भने “तर जग्गाधनी पुर्जा नभएकै कारण ती दुई गाविसमा अझै अनुदान सम्झौता हुन सकेको छैन ।”
जग्गाको नापजाँच गरी धनीपूर्जा वितरण गर्न वि.सं २०३३ मा त्यहाँ नापीटोली पुगेको थियो । दुई खोलाको सिमानालाई लिएर स्थानीयले विवाद गरेपछि नापजाँच नगरि टोली त्यत्तिकै फर्किएको थियो । 
जिल्ला मालपोत कार्यालयले जग्गा नापजाँच ऐन–२०१९ र जग्गा नापजाँच गर्न बनेको नियमावली २०५८ को कार्यविधि परिवर्तन नगरेसम्म २०३३ अघिको आधारमा जग्गा धनी पूर्जा वितरण गर्न नसकिने बताउँदै आएको छ । 
प्राधिकरणले प्रकाशित गरेको लाभग्राहीको सूचिमा फलाँटेका ३६७ र भुम्लुटारका ५८९ जनाको नाम छ । “भुम्लु र फलाँटेको यो समस्या धेरै अघिदेखिको हो,” ढकालले भने, “सरोकारवाला सबै मिलेर यसको तत्काल समाधान खोज्नु पछृ ।”  
प्राधिकरणले प्रकाशित सूचिमा काभ्रेमा ६७ हजार ७११ जना लाभग्राहि छन् । त्यसमध्ये ६० हजार ६८४ जनासँग पहिलो किस्ताको अनुदान सम्झौता भइसकेको छ । 
ढकालका अनुसार ५८ हजार ६०८ जना लाभग्राहीको बैंक खातामा रकम निकासा गरिसकेको छ । त्यस्तै २१ हजार ४३६ वटा गुनासो दर्ता भएको मध्ये २० हजार ५५१ वटा समाधानका लागि प्राधिकरण पठाइएको छ । 

प्रकाशित मिति : ९ मंसिर २०७३, बिहिबार ००:००