२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्जीकरणको नीतिगत व्यवस्थाहरू स्पष्ट हुनु पर्छ



मञ्जु आचार्य
सचिव, वडा नं. ७ काठमाडौं महानगरपालिका

यस वडामा पञ्जीजकरणको काम कसरी भइरहेको छ ?

पञ्जीकरणको काम देशभरका वडाहरूमा नियमित हुँदै आइरहेको छ । यहाँ पनि सोहीअनुरुप पञ्जीकरणको काम भइरहेको छ । स्थानीय पञ्जीकाधिकारी भनेका वडा सचिवहरू नै हुन्छन् ।

घटना घटेको ३५ दिनभित्र दर्ता भइसक्नु पर्ने कानूनी व्यवस्था छ । यस वडाका अधिकांश नागरिकले विवाह, मृत्यु र जन्म ३५ दिनभित्र दर्ता गरिरहेका छन् । ३५ दिनपछि आउनेहरूलाई पनि दर्ता गरिरहेका छौँ ।

घटना दर्ता दैनिक जिवनयापनदेखि मृत्युपर्यन्त आवश्यक छ । तर घटना दर्ता गराउन सरकारले नागरिकलाई अझै झक्झक्याउनु पर्ने अवस्था छ । यस्तो किन भयो ?

घटना दर्ताको महत्वबारे आम नागरिक अझै सचेत भइनसकेको हो कि भन्ने लाग्छ । सरकारले ‘घटना दर्ता गर्न आउ, आउ’ मात्रै भनिराख्ने, तर ‘घटना दर्ता किन चाहिन्छ ?’ भन्नेबारे सुसुचित गराउन नसक्दा यस्तो अवस्था आएको हो ।

‘घटना दर्ता गर्दा के फाईदा हुन्छ, नहुँदा के बेफाईदा हुन्छ ?’ भन्ने चेतना आमजनतामा नजाग्दासम्म समयमा घटना दर्ता नहुने समस्या रहन्छ ।

तपाइँ आमजनतासँग प्रत्यक्ष जोडिएर पञ्जीकरणको काम गरिरहनु भएको छ । पञ्जीकरणको मुख्य समस्याचाँही के के छन् ?

सबैजसो घटना दर्ता समयमै भइरहेको छ । यसमा पनि केही समस्या छन् । मृत्यु दर्ता मृतकको ठेगानामा गर्नु पर्ने व्यवस्था छ । कतिपय नागरिकको छोराछोरीको ठेगाना काठमाडौंमा छ ।

तर मृत्यु भएको बुवाआमाको ठेगाना अन्यत्र छ । यस्तो अवस्थामा मृत्युदर्ता गर्न समस्या छ । सम्बन्धबिच्छेदमा पनि केही समस्या छ । अदालतबाट सम्बन्ध बिच्छेद भए पछि स्थानीय पञ्जीकाधिकारीकहाँ दर्ता गर्नु पर्छ भन्ने चेतनाको अभाव देखिन्छ ।

किनकी अदालतबाट सम्बन्धबिच्छेद भएर धेरै लामो समय पछि मात्रै हामीकहाँ दर्ता गर्न आइपुग्छन् । जत्तिखेर आवश्यक पर्यो त्यत्तिखेर मात्रै सम्बन्धबिच्छेद दर्ता गर्न आउने परिपाटी छ ।

त्यसैगरि पतिको ठेगानामा सम्बन्धबिच्छेद गर्नु पर्ने व्यवस्था छ । सम्बन्धबिच्छेद हुँदै गरेको पतिको घरसम्म जान महिलालाई असहज हुने गरेको देखिन्छ । कतिपय महिलाले आफ्नो पतिको घर नदेखेको पनि हुन सक्छिन् ।

जस्तो बाहिरी कुनै जिल्लाको केटा र केटीबीच काठमाडौंमा विवाह भयो । केटाको घरमा नपुगि सम्बन्धबिच्छेद भयो । त्यस्तो अवस्थामा महिला कसरी पतिको घरसम्म पुग्ने ? यस्ता व्यवहारिक समस्याहरू छन् ।

पत्नीकै ठेगानाबाट सम्बन्धबिच्छेद गर्न मिल्दैन र ?

हाम्रो कानूनी व्यवस्थामा सम्बन्धबिच्छेद पतिको ठेगाना गर्नुपर्छ । पत्नीको ठेगानाबाट पनि बिच्छेद गर्न नसकिने होइन । यसका लागी नीतिगत व्यवस्था परिर्वतन हुनु पर्छ ।

यसमा अर्को समस्या पनि छ । केटा र केटी ‘रिलेसनसीप’मा बस्छ । विवाह दर्ता गरेको हुँदैन । केटाको घरमा पनि गएको हुँदैन । बच्चा जन्मिन्छ । पति सम्पर्कबिच्छेद भए पछि बच्चाको जन्मदर्तामा समस्या आउँछ । बाबुआमाको विवाह दर्ता नभए पछि कानूनी रुपमा बाबु पत्ता नलागेर समस्या आइरहेको छ ।

स्थायी बासिन्दाको स्वतः घटना दर्ता हुन्छ । बहालमा बसेका वा आंशिक रुपमा मात्रै बसोबास गर्ने नागरिकको घटना दर्ताचाँही यहाँ हुन्छ कि हुँदैन ?

स्थायी बसोबास नभएकाहरूको हकमा जहाँ स्थायी ठेगाना छ, त्यहीँ दर्ता हुनु पर्ने व्यवस्था छ । जस्तो बाहिरी जिल्लाको मान्छेको मृत्यु यहाँ भयो भने उसको मृत्युदर्ता उसको स्थायी ठेगानामै गर्नु पर्ने व्यवस्था छ । जन्मदर्ताको हकमा पनि यही व्यवस्था लागू हुन्छ ।

अहिले अधिकांश वडाले अनलाईन घटना दर्ता गर्छन् । जस्तो दार्चुला स्थायी ठेगाना भएको दम्पतिले काठमाडौंमा बच्चा जन्मायो । दार्चुलाको ठेगाना राखेर काठमाडौं महानगरले जन्मदर्ता गर्न मिल्दैन ?

पछिल्लो समय जन्मदर्ता यसरी गर्न सकिने व्यवस्था गरिएको छ । तर यसको थालनी भइसकेको छैन । तर मृत्युदर्ताको हकमा स्थायी ठेगानामै गर्नु पर्छ । स्थायी ठेगाना राखेर यहीँबाट मृत्युदर्ता गर्दा पनि हुन्छ ।

तर केही ब्यवहारिक समस्या देखिन्छ । पत्नीको संख्या धेरै हुने, अंशबण्डा गर्नु पर्ने, नाता प्रमाणित या कायम गराउनु पर्ने कारणहरूले मृत्युदर्ता स्थायी ठेगानामै गर्नु पर्छ ।

पत्नीको महलमा पत्नी जति छन्, सबैको नाम उल्लेख गर्नु पर्छ । यहाँ त यस्ता कुराहरू थाह हुँदैन । यहाँबाट मृत्युदर्ता गरौँला ! कुनै एउटी पत्नीको नाम छुट्यो भने परिवार नै बिखण्डित हुन सक्छ । छुटेको महिला र उसका सन्तान अंशबाटै बञ्चित हुन सक्छ ।

अस्पतालबाटै जन्मदर्ता र मृत्युदर्ता गर्नुपर्ने कुरा पनि आइरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?

एकदमै राम्रो कुरा हो । अस्पतालको डक्टर वा नर्सले प्रमाणित गरेर स्थानीय पञ्जीकाधिकारीको रेकर्डमा पठाउँदा हुन्छ । सायद यो काम प्रक्रियामा पनि छ जस्तो लाग्छ ।

संघीय सरकारसँग तपाइँ स्थानीय पञ्जीकाधिकारीहरूको कुनै माग, अपेक्षा वा भन्नु पर्ने कुरा केही छ ?

माग वा अपेक्षाभन्दा पनि केही अस्पष्ट नीतिगत व्यवस्थालाई स्पष्ट गरिदिए काम गर्न सजिलो हुने थियो । जस्तो, अघि भनेजस्तै विवाह दर्ता नभएका जोडीबाट जन्मिएका बच्चाको जन्मदर्ता कसरी गर्ने ?

२० बर्षभन्दा कम उमेरकी महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता कसरी गर्ने ? जबकि २० बर्षभन्दा कम उमेरमा भएको विवाह दर्ता गर्न मिल्दैन । २० बर्षमुनीको महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता त परैको कुरा !

सरकारले २० बर्षमुनीका महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता गर्न सकिने भनेर परिपत्र त ग¥यो । तर त्यस्ता बच्चाहरूलाई जिल्ला प्रशासन कार्यालयले नाबालक परिचय पत्र दिन मान्दैन ।

जिल्ला प्रशासन कार्यालयले परिचय पत्र नदिए पछि गुनासो लिएर हामीकहाँ गुनासो गर्न आइपुग्छन् । यस्ता समस्याहरूको हल गर्न संघले नीतिगत व्यवस्थालाई स्पष्ट गर्नु पर्छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार ००:००