१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्तामा चुनौती बन्दैछः तथ्यांक शुद्धीकरण



मकवानपुर । थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङकी सुनकुमारी दोङ सामाजिक सुरक्षा भत्ताको लाभग्राही थिइन् । उनको २०७८ जेठ ११ गते मृत्यू भयो । पूर्ण अपाङ्गता जीवन बिताउँदै आएकी सुनकुमारीको मृत्यू भएपछि परिवारले असार ११ गते वडाका कार्यालयमा मृत्यू दर्ता गरे ।

आर्थिक वर्ष ०७७/०७८ को अन्तिम किस्ताको भत्ता रकम पाउने थाहा पाएपछि उनका परिवारले मृत्यू दर्ता गरेको ४ महिनापछि वडामा निवदेन दिए । लाभग्राही परिवारको निवेदन अनुसार वडा अध्यक्ष किरणमान बलले पालिकामा नियमानुसार भत्ता दिन सिफारिस गरे ।

वडा कार्यालयबाट कात्तिक २८ गते भत्ता भुक्तानीको लागि पालिकामा सिफारिस भएको हो । वडा कार्यालयले मृत्यु दर्ता भएपछि त्यहि दिन मृत्यु मितिदेखि लागू हुने गरी सुन कुमारीको सामाजिक सुरक्षा भत्ता प्रणालीबाट लगत कट्टा गरेको छ ।

चौमासिकको शुरुवातीदेखि मृत्यु मितिसम्मको भत्ता रकम दिन पालिकाले बैंकलाई सिफारिस गरेको एमआईएस सेवा इकाइका अपरेटर लक्ष्मण कण्डेलले बताए ।

कण्डेल भन्छन्, “मृत्यु हुने लाभग्राहीको बाँकी अवधिको मात्र भत्ता भुक्तानी गर्ने थाहा नगरपालिकाको अभ्यास हो ।’ उनले भने ।

अर्का लाभग्राही थाहा वडा नम्बर ९ की ज्येष्ठ नागरिक लाभग्राही सरस्वती लामिछानेको २०७८ वैशाख २९ गते मृत्यू भयो ।

मृत्यू भएको नौ महिनापछि माघ १६ गते बल्ल मृत्यू अघिको सामाजिक सुरक्षा भत्ताको लागि सिफारिस भई पालिकामा आएको छ । मृतक लाभग्राहीको भदौ २१ गते मृत्यु दर्ता भएको वडा कार्यालयमा अभिलेख छ ।

“नियमानुसार यो अवस्थामा पहिलो आर्थिक वर्षको अन्तिम किस्ता र चालु आर्थिक वर्षको पहिलो र दोस्रो किस्ताको भत्ता बैंक पठाइसकेको हुन्छौं,” अपरेटर कण्डेलले भने, “जनप्रतिनीधिलाई त गाउँघरमा कसको मृत्यु भयो भन्ने थाहा हुन्छ । त्यहीबेला प्रतिनीधिहरुले समयमै घटना दर्ता गर्न प्रोत्साहन गरे यस्तो समस्या आउँदैन थियो ।”

तर मृतकको आफन्तलाई नगरपालिकाको सिफारिसबिना भत्ता झिक्न नपाउने बाध्यकारी व्यवस्था गरेपछि बाँकी पैसा स्वतः संघीय संचित कोषमा फिर्ता पठाउने गरेको कण्डेलले बताए ।

पालिकाहरूमा समयमै मृत्यु दर्ता नगर्ने एउटा समस्या छ भने सामाजिक सुरक्षा भत्ता प्रणालीमा दोहोरो अभिलेख दर्ता गर्ने अर्को चुनौतिको विषय भएको थाहा नगरपालिकाका अर्का एमआईएस अपरेटर रुपक कार्कीले बताए ।

एकैजना लाभग्राहीले भत्ताको लागि दोहोरो निवेदन दिएको उदाहरण पेश गर्दै अपरेटर कार्कीले भने, “पहिले वडा नं. ८ बाट सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राही अक्कलबहादुर मुक्तानको नाम ०७७/७८ मा वडा नं. ७ को अभिलेखमा पनि दर्ता भएको भेटियो,” कार्कीले भने, “सबै कागजात भिडाउँदा उनको घर वडा नम्बर ७ मै भएको पाइएयो ।”

यो थाहा पाएपछि वडा नम्बर ७ को प्रणालीमा इन्ट्री भएकै समयदेखि उक्त वडाको भत्ता फिर्ता गराइएको छ । प्रणाली मार्फत भुक्तानीका लागि गएको रकम शून्य बनाएपछि पुनः ७ नम्बर वडाकै परिचयपत्र सक्रिय गराई ८ नम्बरकोलाई निष्क्रिय गराइएको कार्कीले बताए ।

मुक्तानको मतदाता परिचयपत्र भने वडा नम्बर ८ मा रहेको निर्वाचन कार्यालयको अभिलेख छ । नागरिकको परिचय खुल्ने कागजात बनाउँदाको बेला ख्याल नगर्दा सामाजिक सुरक्षा भत्ता वितरणमा निकै समस्या हुने गरेको अपरेटर कार्कीको अनुभव छ ।

सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली अनलाइनमा संचालन गर्नु सामान्य भएको र यसको शद्धीकरण भने अबको चुनौतिको रुपमा रहेको थाह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए ।

यसका लागि थाहा नगरपालिकामा मासिक रुपमै भत्ता वितरण गर्ने बैंक, एमआईएस सेवा इकाई र सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाबीच बैठक हुने गरेको छ ।

बैठकले देखिएका समस्यहरूलाई समाधान गर्न सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना स्थानीय समन्वय समित समक्ष अनुरोध गर्ने गरिएको छ ।

कतिपय शंकास्पद लाभग्राीको ‘घर भिजट’ कार्यक्रमसमेत सरू गरिएको पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख सुरज कुमार भुजेलले बताए । यसले तथ्यांक शुद्धीकरणमा महत्वपूर्ण सहयोग पुग्ने भुजेलको विश्वास छ ।

थाहा नगरपालिकामा मृत्यू, बसाईसराई, दोहोरो दर्तालगायतका गरी ४ सय ७९ जनाको लगतकट्टा भएको प्रणालीमा अभिलेख छ ।
अभिलेखअनुसार आव ०७५/०७६ मा १ सय २० जना, ०७५/०७६ मा ९३ जना, ०७६/०७७ मा १ सय ७ जना र ०७७/०७८ मा १ सय ५९ जनाको लगत कट्टा भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ००:००