१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकिङ प्रणालीमा सामाजिक सुरक्षा भत्ताः सुरूमा असहज, अहिले सहज



भोजपुर । बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बाँड्न थालेपछि स्थानीयबासीलाई सहज भएको छ ।

यो भोजपुरको पौवादुङ्मा गाँउपालिकाको अनुभव हो । गाँउपालिकाका एमआईएस अपरेटर देवेन्द्र भुजेलका अनुसार लाभग्राहीले सुरूमा असहज माने पनि अहिले सहज मान्न थालेको बताए ।

“वडाबाट पाउँदै पाउँदै आएको सुरक्षा भत्ता एकै पटक बैंकबाट थाप्नु पर्दा धेरैले अन्योल महशुस गरेका थिए,” भुजेलले भने “अभ्यस्त हुँदै गए पछि अन्योल हटेको छ ।”

बैंकदेखि टाढा रहेका केही दुर्गम बस्तीका लाभग्राहीलाई भने अझै असुविधा रहेको भुजेलले बताए । भुजेलका अनुसार गाँउपालिकामा बैंकदेखि ५ घन्टासम्म पैदल हिँड्नु पर्ने बस्तीहरू पनि छन् ।

“सबैजसो बस्तीमा सडक पुगेको हुँदा सहज भएको छ । तर बर्षायाममा नियमित यातायात सञ्चालन नहुँदा हिँड्नुको विकल्प छैन,” भुजेलले भने, “गाउँपालिकाले नै बस्तीहरूमा भत्ता पुर्याउँछु भन्दा पनि यातायातका कारण सम्भव हुन्न ।”

गाँउपालिकाका अध्यक्ष किरण राईका अनुसार गाँउपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत भत्ता दिँदै आएको छ । गाँउपलिकाको केन्द्र च्याङ्गे्र र अर्को स्थानीय बजार तिवारी भन्ज्याङबाट बैंकले भत्ता दिइरहेको छ ।

त्रैमासिक रुपमा भत्ता बाँड्ने भएकाले एकै पटक सबैको भीड हुने समस्या रहेको अध्यक्ष राईले बताए ।

राई भन्छन्, “भीडलाई सामान्य बनाउन बैंकले कर्मचारी थप्नु पर्छ । यसका लागी बैंकसँग पहल गरिरहेका छौँ,” राईले भने, “गाउँपालिकाले पनि भत्ता बितरणलाई सहज बनाउन थप एक्टेन्सन काउन्टरहरू खोल्न पहल गरिरहेको छ ।”

१२ हजार हाराहारी जनसंख्या भएको गाउँपालिकामा झन्डै ६ हजार मतदाता छन् । यसमध्ये सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या १ हजार ४६४ छन् । “संख्या थपघट भइरहने हुँदा संख्या सँधै उही एकै संख्या हुँदैन’, भुजेल भन्छन् ।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरूमा बृद्धबृद्धा, अपाङ्गता भएका, एकल महिला, दलित बालबालिका तथा ज्येष्ठ नागरिक छन् ।

“सामाजिक सुरक्षा भत्ताकै कारणले बैंकसँग जनता जोडिनु सकरात्मक सुरुवात हो,” अध्यक्ष राई भन्छन्, “यसैको माध्यमबाटसबै गाँउपालिकाबासीलाई बैंकसँग जोड्न सकिए बैंकिङ साक्षरता शत प्रतिशत पुर्याउन सकिन्छ । यसका लागी पहिलो कार्यकालमा हामीले जग हालेर संरचना बनाई दिएका छौँ । नयाँ जनप्रतिनिधीले यसलाई थप व्यवस्थित गर्ने छन् भन्ने विश्वास छ ।”

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ००:००