१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाहा नगरपालिकाः अनलाईन घटना दर्तामा अब्बल



मकवानपुर । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अनलाइनमार्फत ‘व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली’ शुरू गरेको सात वर्ष पूरा भएको छ ।

तत्कालिन केन्द्रीय पञ्जीकरण विभागले २०७१ माघदेखि काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट प्रणाली शुभारम्भको घोषणा गरिएको हो ।

यद्यपि स्थानीय तहहरूले २०७३ चैतबाट औपचारिक रुपमा प्रणालीको प्रयोग गरेको विभागको वेभसाइटमा अभिलेख छ । अहिले यो प्रणाली देशभरका ५ हजार ९४१ वडा कार्यालयले प्रयोग गरिरहेका छन् । देभरका अझै ८०२ वटा वडाले यो प्रणाली अपनाएकै छैनन् ।

विभागले तयार गरेको अनलाईन प्रणालीमा व्यक्तिको जन्म, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ र मृत्युको अनलाइन दर्ता गरिरहेको छ । व्यक्तिको जीवनकालमा हुने विभिन्न घटनामध्ये जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदको विवरण राख्ने काम नेपालमा २०३३ सालबाटै शुरू गरिएको हो ।

समयानुकल यस कार्यलाई परिमार्जन गर्दै हाल अनलाइन प्रणालीमा प्रविष्टी गर्न थालिएको हो । स्थानीय पालिकाहरुको वडा कार्यालयबाट हुने घटना दर्ताको प्रणाली मार्फत सिधै काठमाण्डौंको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरमा अभिलेख बस्नेछ ।

स्थानीय तहहरूले यो प्रणाली अपनाउँदा सुरक्षाका दृष्टिले प्रभावकारी हुने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी बताउँछन् । पुरी भन्छन्, “अभिलेख सुरक्षामा यो प्रणालीले असाध्यै प्रभावकारी हुने भएकाले हामीले यसलाई शुरुबाटै अपनाउँदै आएका छौं ।”

मकवानपुरमा थाहाबाटै प्रणाली सुरू

व्यक्तिगत घटना दर्ताको अनलाइन प्रणाली प्रयोगको शुरुवात जिल्लाको थाहा नगरपालिकाबाटै सुरू भएको हो ।

थाहा नगरपालिकाले वडा नम्बर १२ बाट प्रणाली सुरू गरेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेभसाइटमा राखिएको अभिलेख अनुसार थाहा नगरपालिकाले २०७४ साउन ३० गतेबाटै प्रणाली प्रयोग गरेको हो ।

जिल्लाको उत्तरी ग्रामिण क्षेत्रको पालिका भएर पनि थाहानगरले प्रणाली शुरुमै प्रयोग गरेको अभिलेख छ ।

१२ वटा वडा रहेको थाहा नगरपालिकाले इन्टरनेट नभएका वडाहरुमा क्रमशः विस्तार गर्दै २०७५ फागुन १५ गते पूर्ण अनलाइन घटना दर्ता पालिका भएको थियो ।

पालिकाको तत्कालिन कार्यकारी अधिकृत भीम बहादुर परियारले शुभारम्भ गरेको प्रणाली प्रयोगलाई कार्यकारी अधिकृत हरिलाल पुरीले पूर्ण अनलाइन घोषणाको अवसर पाएका हुन् ।

प्रणाली प्रयोग गर्ने जिल्लामा दोस्रो स्थानीय तहमा मकवानपुरगढी गाउँपालिका रहेको छ । मकवानपुरगढीले २०७४ भदौ २३ गतेबाट प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।

विभागको अभिलेख अनुसार प्रणाली कार्यान्वयनको तीनवर्ष पछि २०७७ माघ २ गते मकवानपुरगढी पूर्ण अनलाइन घटना दर्ता कार्यान्वयन पालिका भएको हो ।

यस्तै बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका हेटौंडाले २०७६ जेठ ३ गतेबाट मात्र घटना दर्ताको अनलाइन प्रणालीको सुरू गरेको हो भने चालु आर्थिक वर्षबाट मात्र पूर्ण अनलाइन घटना दर्ता पालिका भएको हो ।

मकवानपुरका १० पालिका मध्ये राक्सिराङ गाउँपालिकाले अनलाइन घटना दर्ता नै थालेको छैन भने जिल्लाको सबैभन्दा कम क्षेत्रफल भएको इन्द्रसरोवर गाउँपालिकाले २०७८ जेठबाट प्रणाली सुरू गरेको हो ।

त्यस्तै भिमफेदी गाउँपालिकाले २०७७ माघ १५, बागमती गाउँपालिकाले २०७८ माघ ११ गतेबाट, बकैयाले २०७७ भदौ २६, मनहरीले २०७७ साउन ४ गते र कैलाश गाउँपालिकाले २०७८ असार ६ गतेबाट मात्र अनलाइन घटना दर्ता सुरू गरेका हुन् ।

मकवानपुरका १३ वडामा अझै छैन अनलाइन घटना दर्ता

मकवानपुर जिल्लामा अनलाइन घटना दर्ता प्रारम्भ भएको ४ वर्ष वितिसक्दा पनि अझै पूर्ण अनलाइन घटना दर्ता जिल्ला हुन सकेको छैन । जिल्लाको राक्सिराङ गाउँपालिकाको पूरै ९ वटै वडामा व्यक्तिगत घटना दर्ता अनलाइन हुन सकेको छैन । पालिकाले परम्परागत शैलीमा हातैले लेखेर घटना दर्ता गरिरहेको छ ।

त्यस्तै बाग्मती गाउँपालिकाको ९ मध्ये ५ वटा वडामा मात्र अनलाइन घटना दर्ता संचालन भैरहेको छ । बाग्मतीले २०७८ साल माघ ११ गतेबाट मात्र अनलाइन घटना दर्ता शुरु गरेको हो । बागमतीको वडा नम्बर ३, ५, ६ र ८ मा अझै अनलाइन घटना दर्ता थालेको छैन ।

बाग्मती गाउँपालिकाले अन्तिम पटक २०७८ चैत १४ गते वडा नम्बर ९ मा अनलाइन घटना दर्ता शुरु गरेको छ ।

थाहालाई विभागको सम्मान

थाहा नगरपालिकाले अनलाइन घटना दर्ता र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अनलाइन व्यवस्थापन सूचना प्रणाली (एमआईएस)मा इन्ट्री गरेकोमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सम्मान गरेकाे थियाे ।

विभागले २०७४ सालमा नगरपालिकालाई सम्मान गरेको नगरपालिकाका पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख सुरज कुमार भुजेलले बताए ।

विभागले देशभरबाट ३२ स्थानीय तहलाई सम्मान गरेको थियो । विभागको तेस्रो वार्षिक उत्सवको अवसरमा २०७४ असोज ३० मा अनलाइन प्रणाली संचालन गर्ने पालिकाहरुलाई सम्मान गरेको हो ।

“अनलाइन घटना दर्ता र सामाजिक सुरक्षा मात्र हैन, हामी पालिका र वडाका धेरै सेवा प्रवाहलाई अनलाइनमा आधारित बनाउँदै छौं,” प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले भने ।

अहिले विभागकै परियोजना अन्तर्गत एमआईएस. इकाई स्थापना भएपछि प्रणाली प्रयोग र सेवा प्रवाहमा निकै सहजता आएको प्रशासकीय अधिकृत पुरीले बताए ।

नागरिक जन्मने वित्तिकैदेखि मृत्युसम्म जोडिने घटना दर्तालाई महत्वकासाथ लिँदै यसको व्यवस्थापनमा संघीय सरकारले देखाएको चासोप्रति पुरीले धन्यवाद दिए ।

एमआईएस इकाईको जनशक्ति निरन्तरता र क्षमता विकासमा पनि संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

“स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तथ्याङ्क व्यवस्थापन पालिकाले गर्नुपर्छ भनिएको छ । तर हामीसंग सोच छ, स्रोत छैन,” पुरीले भने, “स्थानीय पालिकाको सोचलाई आर्थिक स्रोतको अभावकै कारण कार्यान्वयन गर्न नसक्ने अवस्थाबाट संघीय सरकारले पार लगाउनु पर्छ, काम हामी गर्छौ ।”

मेयरको नारा व्यवहारमा

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले ५ बर्षअघि आफूले उमेद्वारी दिदै गर्दा सूचना प्रविधिको मुद्दालाई चुनावी नारा बनाएका थिए ।

नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउने उनको घोषणापत्रमै लेखिएको थियो । उनले घोषणापत्रमा ‘नगरपालिकाबाट प्रवाह गर्ने सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउनेछु’ भनेर लेखेका थिए ।

सपना बाँड्ने भन्दापनि सक्ने कुरा बोल्यौं भने सफल भइन्छ भन्ने उदाहरण आफू भएको मेयर विष्ट बताउँछन् । उनले घोषणा पत्रमा उल्लेख गरेझै पालिकाको आम्दानी खर्च चौमासिक रुपमा वेभसाइट मार्फत सार्वजनिक गर्दै आएका छन् ।

कोरोना भाइरस संक्रमण तथा रोकथामका बेला दिनदिनैको आयव्यय र दैनिक क्रियाकलाप सार्वजनिक गरेर चर्चामा आएका मेयर विष्ट आफू सँधै पारदर्शी र सूचना प्रविधि मैत्रीको पक्षमा प्रतिवद्ध भएको बताउँछन् ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्ट नेपाल नगरपालिका संघको विषयगत समिति अन्तर्गत तथ्याङ्क, सूचना र प्रविधि तथा स्मार्ट सिटि समितिको संयोजक समेत हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार ००:००