११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री नमूना गाउँको डिपिआर निर्माणमा स्थानीयवासी जुटे




दमौली । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा छनोट भएको तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासी गाउँको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि जुटेका छन् ।

पाथर्दीलाई व्यवस्थित र नमुना गाउँ बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको डिपिआरका लागि स्थानीयवासीले देउसीभैलोबाट रकम सङ्कलन गरेका हुन् ।

नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा गाउँमा नै देउसीभैलो खेलेर दुई लाख सङ्कलन भएको पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिए । “पाथर्दी मुख्यमन्त्री नमूना वातावरणमैत्री गाउँका रुपमा छनोट भएको छ”, आलेले भने, “यो गाउँलाई थप व्यवस्थित र नमूना बनाउनका लागि डिपिआर निर्माण गर्ने सोचमा छौँ ।”

मुख्यमन्त्री नमूना कृषक समूहका निवर्तमान अध्यक्षसमेत रहेका आलेका अनुसार कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर गाउँको डिपिआर बनाउन लागिएको छ । “कृषि र पर्यटन पाथर्दीको पहिचान हो”, आलेले भने, “यसलाई व्यवस्थित गरेर गाउँको विकासमा जुट्ने प्रयास गरेका छौँ ।” डिपिआर निर्माणका लागि देउसीभैलोबाट सङ्कलित रकमले मात्रै नपुग्ने भएकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पनि बजेटको माग गरिने आलेले बताए ।

आलेका अनुसार पाथर्दीमा रहेको इलुङ झरनामा पैदलमार्ग, खेलकूद मैदान, बालउद्यान र पुस्तकालयसहितको उद्यान बनाउने लक्ष्य राखिएको छ । साथै लोप हुँदै गइरहेको चौतारा र कुवाको संरक्षण गरिनेछ । डिपिआर निर्माण गर्ने उद्देश्यसहित खेलिएको देउसीभैलोमार्फत भीमाद नगरपालिका–९ वडा कार्यालयको तर्फबाट ५० हजार सहयोग गरिएको वडाध्यक्ष इमान थापाले बताए ।

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा छनोट भएको पाथर्दीमा गण्डकी प्रदेश सरकारले गत वर्ष २५ लाख सहयोग गरेको थियो । उक्त रकमबाट घाँसका बिरुवा वितरण, बाख्रा वितरण, खोर सुधार लगायतको काम सम्पन्न भएको मुख्यमन्त्री नमूना कृषक समूहका अध्यक्ष डोलराज गुरुङले जानकारी दिए ।

साथै कृषिजन्य सामग्री सुन्तला, तरकारी, अदुवालगायत राख्नका लागि १० टन क्षमताको चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । उक्त गाउँका १६१ घरधुरी नमूना कृषि गाउँमा आबद्ध छन् ।

पाथर्दी बोयर जातको बाख्राको स्रोत केन्द्र पनि हो । यहाँका प्रत्येक घरमा बाख्रापालन गरिएको छ । ६० भन्दाबढी घरधुरीले बाख्रापालन गरिरहेका छन् । पर्यटन प्रवर्द्धनका लागि सोही ठाउँमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माण पनि भएको छ ।

नगरपालिकाको पाँच लाखको बजेटमा झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माणको काम सम्पन्न भएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालू आर्थिक वर्ष ०७६÷७७ मा १० लाख विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरीद गरिने बताइएको छ ।

झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास शुरु भइसकेको छ । यहाँका १० घरधुरीमा घरबास सञ्चालन भएको छ । रासस

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार ००:००