४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुमाल बस्तीमा स्वास्थ्य शिविर



अर्घाखाँची । सन्धिखर्क ५ बेलेवाङका ५५ वर्षीय हरि कुमाललाई बेलाबेलामा पेट दुख्ने समस्या थियो । जिल्ला अस्पताल पुगी भिडियो एक्सरे गरेर रोग पहिचान गर्ने सोच बनाए पनि उनी अस्पताल पुग्न भ्याएका थिएनन् । गाउँमै आएको स्वास्थ्य शिविरले भिडियो एक्सरे सेवा प्रदान गरेपछि उनले त्यसबाट लाभ लिन पाए ।

“बेलाबेलामा पेट दुखिरहन्थ्यो” उनले भने, “डर लागिरहेको थियो, तर खासै समस्या रहेनछ ढुक्क भएँ ।” उनले भिडियो एक्सरे मात्र गरेनन् मुटुको जाँच र प्रेसर पनि जाँच गरे । स्थानीयवासी पोमबहादुर कुमालले पनि पिसाब र रगत जाँच गराए । “केही दिनदेखि ज्वरो आइरहेको थियो”, उनले भने, “गाउँमै स्वास्थ्य परीक्षण गर्न पाउँदा खुशी लाग्यो ।”

अर्का स्थानीयवासी मनकला भुसालले पनि शिविरमा दाँत फाल्नुका साथै मुटुको परीक्षण गराइन् । “दैलामै डाक्टरसाब आएर जाँच गर्नुभयो” ८० वर्षीया भुसालले खुशी हुँदै भनिन्, “दाँतले निकै दुःख दिइरहेको थियो, अब सायद समस्या नहोला ।”

विश्व मुटु दिवसको अवसरमा लायन्स÷लियो क्लब अफ काठमाडौं लर्ड बुद्धले यहाँ आयोजना गरेको दुई दिने स्वास्थ्य शिविरमा करीब एक हजार ५०० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरको समापन गर्दै प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले स्वास्थ्य क्षेत्रमाथि कसैले पनि खेलवाड गर्न नहुने बताए । “स्वास्थ्य क्षेत्रको विकासले अन्य क्षेत्रको विकासलाई पनि टेवा पु¥याउँछ” उनले भने, “राज्यले ठोस् योजना बनाएर यसको विकासमा लाग्नुपर्छ । पछिल्लो समयमा धेरै मानिसले मिर्गौला क्यान्सर, हृदयघातका कारण ज्यान गुमाइरहेका छन् ।”

उनले खानपिनमा ध्यान दिई समय समयमा स्वास्थ्य परीक्षण गर्ने बानी सबैले बसाल्नुपर्छ भन्दै जिल्ला अस्पताललाई सुविधा सम्पन्नसहित ५० शैय्याको बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

बलेवाङमा कुमाल समुदायको बाहुल्य रहेको छ । शिविरबाट यो समुदाय लाभान्वित भयो । शिविरमा सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग पु¥याएका थिए । सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टर र अन्य डाक्टर तथा नर्सहरुले स्वास्थ्यपरीक्षण गरेका छन् । बर्दीमा रहेका प्रहरीले मुस्कानसहित स्वास्थ्यपरीक्षण गरेको देख्दा स्थानीयवासी दङ्ग परे । “प्रहरीका पनि डाक्टर हुँदा रहेछन् मलाई त थाहा थिएन” स्थानीयवासी भोजबहादुर कुमालले भने, “शुरुमा डर लाग्यो र हासीहासी कुरा गर्दै जाँचेपछि सामान्य लाग्यो ।”

क्लबका संस्थापक चार्टर अध्यक्ष विष्णु भण्डारीले क्लबले प्रत्येक प्रत्येक वर्ष मुटु दिवसको अवसर पारेर दुर्गम बस्तीमा स्वास्थ्यशिविर सञ्चालन गर्दै आएको बताए ।

“स्वास्थ्यको पहुँचबाट टाढा रहेका विभिन्न बस्तीमा पुगी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौँ” उनले भने, “धेरै मानिसलाई नयाँ जीवन दिन पाइरहँदा खुशी छौँ ।”

क्लबका अध्यक्ष हरि अधिकारीले समान्य स्वास्थ्य समस्या पनि विस्तारै जटिल हुने भएकाले स्वास्थ्यशिविरले मानिसलाई धेरै फाइदा पु¥याउने बताए । “समय–समयमा विभिन्न संस्थाले यसैगरी दुरदराजमा पुगेर स्वास्थ्यशिविर सञ्चालन गर्नुपर्छ” उनले भने, “बाध्यताले स्वास्थ्य संस्थासम्म पुग्न नसकेकालाई शिविरबाट फाइदा पुग्छ ।”

सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी उपरीक्षक रत्न पोखरेलले अस्पतालले विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर दुर्गम बस्तीसम्म पुगी स्वास्थसेवा प्रदान गर्दै आइरहेको बताए । “विभिन्न रोगका विशेषज्ञ डाक्टरसहित २५ जनाको मेडिकल टोलीले सेवा प्रदान ग¥यो” उनले भने, “उल्लेख्य मात्रामा स्थानीयवासीको सहभागिता रहँदा हामीलाई पनि निकै उत्साह प्रदान भयो ।” जिल्लाका विभिन्न ठाउँका बिरामी शिविरमा आइ स्वास्थ्य सेवा लिएका थिए । रासस

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार ००:००