५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानी उपत्यकामा ३४ प्रतिशतले मात्रै बनाए आवास



काठमाडौँ उपत्यकाभित्र नै भूकम्पपछिको पुनःनिर्माणको कामले गति लिन नसकेको पाइएको छ ।

भूकम्प प्रभावित अन्य जिल्लामा पुनःनिर्माणले गति लिएको र ८५ प्रतिशतको हाराहारीमा प्रगति हुन लागेका बेला उपत्यका भने पुनःनिर्माणको अवस्था नाजुक देखिएको छ । प्राधिकरणका अनुसार उपत्यकाको पुनः निर्माण ३४ प्रतिशतको हाराहारीमा मात्रै छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार उपत्यका तीन जिल्लामा हालसम्म मात्रै ३१ हजार ४३० जनाले मात्रै तेस्रो किस्ताबापतको रकम लिएका छन् । पुनःनिर्माणको अवस्था पनि असाध्यै कमजोर देखिएको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार काठमाडौँ जिल्लामा कूल लाभग्राहीको संख्या ४७ हजार ६६४ रहेकामा ४१ हजार ७२८ ले अनुदान सम्झौता गरेका थिए ।

अनुदान सम्झौता गरेकामध्ये आधाभन्दा कम अर्थात् ३० प्रतिशत जतिले मात्रै दोस्रो किस्ताबापतको रकम लिएका छन् । प्राधिकरणका अनुसार कूल १७ हजार ७८३ घरधनीले मात्रै दोस्रो किस्ताबापतको रकम लिएका हुन् । तेस्रो किस्ता लिनेको संख्या १४ हजार ७२ मात्रै छ ।

यस्तै ललितपुरमा भूकम्प प्रभावितको संख्या २८ हजार ४६३ रहेकोमा अनुदान सम्झौता गर्ने २५ हजार ५४ छन् । पहिलो किस्ता संख्या २४ हजार ९२८ छ भने दोस्रो किस्ता ११ हजार १४७ घरधनीले मात्रै लिएका छन् । त्यस्तै तेस्रो किस्ता लिनको सङ्ख्या ८ हजार ७०० छ ।

भक्तपुरको अवस्था पनि त्यस्तै छ । भक्तपुरमा कूल २८ हजार ४२६ जना लाभग्राहीको सूचीमा रहेका छन् । सो सूचीमा समावेश भएकामध्ये २४ हजार ५५१ ले पहिलो किस्ता, ८ हजार ७५९ ले दोस्रो किस्ता र ८ हजार ६५८ ले मात्रै तेस्रो किस्ता लिएका छन् । उपत्यकाभित्र एक लाख चार हजार ५५३ लाभग्राही रहेकामा ९१ हजार ३३३ ले अनुदान सम्झौता गरेका थिए ।

त्यस्तै ९१ हजार २०७ ले पहिलो किस्ता लिएकामा ३७ हजार ६८९ ले दोस्रो किस्ता लिँदा तेस्रो किस्ता लिनेको सङ्ख्या मात्रै ३१ हजार ४३० रहेका छन् । प्रतिशतका आधारमा हेर्ने हो भने कूल ८७ दशमलव ३६ प्रतिशतले अनुदान सम्झौता गरेकामा ९९.८ प्रतिशतले पहिलो किस्ता लिए । दोस्रो किस्ता लिने ४१ दशमलव २६ र तेस्रो किस्ता लिने ३४ दशमलव ४१ प्रतिशत देखिन्छ ।

प्राधिकरणको विवरणअनुसार काठमाडौँमा २२ हजार ५८७ ले मात्रै घर निर्माण थालेका छन् । घर निर्माण सम्पन्न गर्नेमा ११ हजार ९७१ छन् भने घर पुनःनिर्माण गर्दै गरेकामा मात्रै १० हजार ६१६ रहेका छन् ।

उता ललितपुरमा १२ हजार १३८ ले घर निर्माण शुरु गर्दा, पाँच हजार ३९२ ले निर्माण सम्पन्न गरेका छन् । त्यस्तै भक्तपुरमा ११ हजार ७०८ ले घर निर्माण शुरु गरेका छन् । आठ हजार ४०२ ले घर निर्माण सम्पन्न गर्दा तीन हजार २८८ ले घर पुनःनिर्माण गर्दै गरेको अवस्था छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लाका आधारमा हेर्दा अनुदान सम्झौता गर्ने ९५ प्रतिशत लाभग्रही देखिन्छ। यस्तै पहिलो कित्ता लिने ९९ प्रतिशत, दोस्रो किस्ता ७८ प्रतिशतले लिँदा तेस्रो किस्ता समेत ६४ प्रतिशतले लिएका छन् ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार शहरी क्षेत्रको पुनःनिर्माण अपेक्षाकृत ढङ्गले अगाडि बढ्न सकेको छैन । त्यसैले समयमै पुनःनिर्माण सम्पन्न गर्न उपत्यकामा चुनौति देखिएको छ ।

सहरी क्षेत्रमा लाभग्राहीले ३ लाख लाख रुपैयाँ लिएर घर बनाउन अनिच्छुक देखिएका छन् । उपत्यकामा घर निर्माणको लागत बढी हुँदा ३ लाख रुपैयाँ थोरै रकम हो ।

क्षतिग्रस्त घर थोरै जग्गामा बनेका र हाल बनाउँदा नगरपालिकाको मापदण्ड पालना गर्नुपर्ने भएकाले पनि कठिनाइ उत्पन्न भएको निष्कर्षमा प्राधिकरण पुगेको छ ।

यस्तै एउटै घरमा धेरै परिवार बस्ने गरेको, अंशबण्डाका समस्या रहेको र मुद्दा पनि धेरै परेको पाइएको छ । क्षतिग्रस्त घर भत्काउँदा अर्कोलाई असर पर्ने र भूमिहीनको समस्या, सहुलियत ऋण प्रभावकारी हुन नसक्ने जस्ता कारणले पनि उपत्यकाको पुनःनिर्माणले गति लिन नसकेको हो ।

यस्तै भूकम्प प्रभावित अन्य जिल्लामा प्राधिकरणको नीतिगत व्यवस्थाका बारेमा जानकारी भए पनि उपत्यकाभित्र भूकम्प प्रभावितले कम मात्रैमा जानकारी पाएका छन् । रासस

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार ००:००