९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरको फोहर नारायणी किनारमा फाल्न रोक




कृष्ण आचार्य

भरतपुर । भरतपुर महानगरपालिकाको फोहर नारायणी किनारमा फाल्न स्थानीयवासीले रोक लगाएका छन् । महानगरपालिकाले जनताको माग सम्बोधन नगरेको भन्दै वडा नं ३ का स्थानीयवासीले फोहर फाल्न रोक लगाएका हुन् ।

स्थानीयवासीले ल्याण्डफिल्ड साइटपीडित सङ्घर्ष समितिसमेत बनाएका छन् । महानगरले भरतपुर महानगरपालिका ३ स्थित नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । तर महानगरले ल्याण्डफिल्ड साइट निर्माण नहुञ्जेलसम्मका लागि भन्दै सो क्षेत्रमा फोहर फाल्ने गरेको हो ।

आज बिहान ५ बजेबाट नै जम्मा भएर फोहर फाल्न रोक लगाइएको ल्याण्डफिल्ड साइटपीडित सङ्घर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिए । विगत १० वर्षदेखि भरतपुर महानगरले अव्यवस्थित र अवैज्ञानिक ढङ्गले नागरिकको स्वास्थ्यमा असर पर्ने गरी फोहर फालेको तर स्थानीयवासीको सेवासुविधामा बेवास्ता गरको उनले बताए ।

आफ्ना मागका सम्बन्धमा महानगर प्रमुख रेनु दाहाललाई ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको श्रेष्ठको भनाइ छ । माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहर फाल्न नदिने उनले बताए । “यो महानगरपालिकाभरिको फोहर ल्याएर फाल्ने ठाउँ होइन”, श्रेष्ठले भने, “स्थानीयवासीले सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षा लगायतका विषय महानगरपालिकासमक्ष मागका रूपमा पेश गरेका छन् ।” माग लिएर महानगर जाँदा प्रमुख दाहालले हेप्ने काम गरेको श्रेष्ठले गुनासो गरे ।

सङ्घर्ष समितिका सल्लाहकार सूर्य बरालले जनताका माग सम्बोधन भए केही वर्षसम्म फोहर फाल्न दिने सोचमा रहेका स्थानीयवासीलाई महानगरको व्यवहारले आक्रोशित बनाएको बताए । अव्यवस्थित फोहर थुपारिएकै कारणले भरतपुरमा रोगको प्रकोप फैलने गरेको उनले बताए ।

सो क्षेत्रमा हिउँदमा फालिएको फोहर बर्खामा बढेर आउने नारायणी नदीले बगाउँछ । यो क्रम बर्सेनि निरन्तर चल्दै आएको छ । महानगरपालिकाको फोहरसँगै अस्पतालजन्य फोहर पनि नदी किनारामा फाल्ने गरिएको छ । फोहर र दूषित ढल मिसिँदा नारायणी नदी प्रदूषित बन्दै गएको छ । स्थानीयवासीका अनुसार अस्पतालजन्य फोहरका रुपमा गर्भपतन गरिएका र अन्य कारणले मरेका बच्चादेखि सालनाल, काटिएका मानव अङ्ग, धारिला ब्लेड, प्याड लगायतका सामग्रीसमेत नदी किनारमा फाल्ने गरिएको छ ।

नारायणगढको मुख्य चोक पुल्चोकबाट दुई किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा महानगरले विगत १० वर्षदेखि फोहर फाल्दै आएको छ । यहाँ करीब १५० घरधुरी छन् । भरतपुर महानगरपालिका ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले स्थानीयवासीले उठाएको विषयबारे आफूलाई केही जानकारी नभएको बताए । उनले भने, “स्थानीयवासीका केही माग भए पनि त्यसलाई क्रमिकरूपमा समाधान गर्दै जानुपर्छ ।” उनले हतारमा फोहर फाल्न अवरोध गर्न नहुने विचार राखे । उनले महानगरपालिकाको अन्यत्र फोहर फाल्ने विकल्प नभएकाले पनि नारायणी दोभानमा फोहर फाल्नु परेको बताए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले विगतमा पनि महानगरपालिकाले सो क्षेत्रको पूर्वाधार निर्माणमा काम गरिहेको र आउँदा दिनमा पनि गर्ने बताए । महानगरपालिकाले फोहर व्यवस्थापनको दिगो समाधानका लागि एक कोरियाली संस्थासँग सम्झौतासमेत गरेको छ । सरकारले भरतपुर महानगरपालिका ११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दै जग्गा दिने निर्णय विसं २०६८ मा नै गरेको हो । भरतपुरमा ल्याण्डफिल साइट बनाउन महानगरले करीब १५ बिघा जमीन पाएको छ । रासस

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार ००:००