५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढ्दै



डोटी । घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै डोटीको ग्रामीण भेगका गर्भवती हिजोआज सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले डोटीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङ्ख्या बढेको जिल्ला अस्पताल डोटीका डा गिरिश अवस्थीले बताए ।

उनले भने, “पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाको अभियानसँगै व्यापक प्रचारप्रसारपछि सुत्केरी हुने आमा स्वास्थ्य संस्था धाउन थालेका हुन् ।” तीन वर्षको तथ्याङ्क हेर्दा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा डोटीमा कूल गर्भवतीको ५७ प्रतिशत र आव २०७४÷७५ मा ६६ प्रतिशत स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका थिए । आव २०७५÷७६ मा भने ६४ प्रतिशत पुगेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने घट्नुको मुख्य कारण दोहोरो बसाइँ रहेको जिल्ला जन स्वास्थ्य कार्यालय डोटीका मेडिकल सुपरीटेण्डेन्ट डा भूषण मिश्रले बताए ।

उनले भने, “डोटीका अधिकांशको बसाइ कैलालीमा छ, दोहोरो बसाइ तथा सुविधा सम्पन्न अस्पतालमा सुत्केरी गराउन बाहिर लैजाने गरेकाले केही घटेको हो ।” स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण महिला सुत्केरी हुन नजिकैको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, इलाका स्वास्थ्य कार्यालय तथा स्वास्थ्यचौकीमा जाने गरेको इलाका स्वास्थ्य कार्यालय रानागाउँका सिनियर अहेब वेदप्रकाश जोशीले बताए । उनले भने, “घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदाका बारेमा बुझेपछि सुत्केरी हुन महिला स्वास्थ्य संस्था जाने गरेका हुन् ।”

आव ०७४÷७५ मा ८६ र आव ०७५÷७६ मा १०५ महिलाले सुरक्षित सुत्केरी गराएको सो इलाका स्वास्थ्य कार्यालयका अनमी हरिप्रिया शाहीले बताइन् । सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेलाई सङ्घीय सरकारले यातायात खर्चस्वरुप पहाडी जिल्लामा दुई हजार उपलब्ध गराउँदै आएकोमा यहाँका नौ वटा स्थानीय तहले नयाँ जन्मिने बालबालिका र नानी बाबु पाउने आमालाई नयाँ लुगा दिने नियम बनाएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढेको बडिकेदार गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्र कोडकेनीले बताए ।

उनले भने, “यातायात खर्चसहित न्यानो लुगा दिने नियम चलाएपछि अहिले प्राय कोही पनि महिला घरमा सुत्केरी हुदैनन् ।” डोटीका नौ स्थानीय तहका करीब १०० ठाउँमा सुरक्षित प्रसूति केन्द्र सञ्चालनमा छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुनथालेपछि आमा र बच्चाको ज्यान जाने खतरा करीब शून्यमा झरेको स्वास्थ्यकर्मीको दाबी छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार ००:००