गोपालप्रसाद बराल
महोत्तरी । प्राचीन मिथिलाको मध्यअवस्थित महोत्तरी जिल्लाका पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् ।
कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय बोकेका धार्मिकस्थल समुचित संरक्षण र मर्मतसम्भार नहुँदा अब अस्तित्व सङ्कटको स्थितिमा पुगेका हुन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा कतैबाट पहलकदमी नदेखिएपछि अस्तित्व लोप हुने स्थितिमा पुगेको छ ।
जिल्लामा हिन्दू परम्पराका मठमन्दिर, इस्लाम परम्पराको रौजामजार र बौद्ध परम्पराका गुम्बाहरु पवित्र मानिँदै आइएका छन् । तर जिल्लाका यी पुरातात्विक महत्वका स्थलको संरक्षण संवर्द्धन हुन नसक्दा क्रमशः खण्डहर बन्दै जाने स्थिति बनेको हो ।
जिल्लामा प्राचीनकालदेखिका प्रसिद्ध शिवालयहरुमा साउन महिना र महाशिवरात्रिका अवसरमा लाखौँ श्रद्धालुको भीड लाग्ने गरेको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित श्रीजलेश्वरनाथ, बर्दिवास–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ, भङ्गाहा–५ सिद्धपुरस्थित श्री सिद्धनाथ र सोनमाको मगरथानास्थित श्री मङ्गलनाथ आदिकालमै स्थापित प्राचीन शिवालय मानिन्छन् । तीमध्ये जलेश्वरनाथमा मन्दिर मर्मतसम्भारको काम थालिए पनि वर्षौं बितिसक्दासम्म काम सम्पन्न हुन नसकेको जलेश्वरवासी बताउँछन् ।
त्यसैगरी टुटेश्वरनाथ महादेव मन्दिरले मर्मतसम्भार नपाएको वर्षौं बितिसकेको त्यहीँकै बासिन्दाको भनाइ छ । त्यस्तै अति प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिर रातु र बडहरी नदीको बगरमै मिसिसक्दा पनि कोही हेर्ने नभएका सिद्धपुर बस्तीका परेखन सादा बताउछन् ।
जिल्लामा प्रसिद्ध धार्मिकस्थलको कुरा उठ्दा बलवा नगरपालिका–३ पडौलस्थित कारिख महाराजस्थान, भङ्गाहा–९ हरिहरपुर कञ्चनवनस्थित रामजानकी विहार, रामसीताको विवाहमा बेदी (विवाह मण्डप) बनाउन माटो खनिएको ठाउँ मटिहानीस्थान, रामायणकालकै पितृमातृभक्त श्रवणकुमारका न्यून दृष्टियुक्त व्यक्ति (नेत्रविहीन) बाबुआमा बस्ने ठाउँ मानिएको लोहारपट्टि नगरपालिकाको बगडास्थित अन्धाअन्धीस्थान र पिपरा गाउँपालिकाको बनौलीदनौलीस्थित मैथिली भाषाका महाकवि विद्यापतिको किल्ला मानिएको विद्यापति गढको उपयुक्त संरक्षण र मर्मतसम्भार नहुँदा बेवारिसजस्तै बनेका छन् ।
यसबाहेक औरही नगरपालिकाको भोइलस्थित श्री सोनामाई मन्दिर, बर्दिवास–४ स्थित पञ्चधुरा माई मन्दिर र बर्दिवास–३ को राइमण्डल पुरातात्विक महत्वका अति प्राचीन धार्मिकस्थलमा कुनै निकायको ध्यान नपुगेको यस भेगका बुद्धिजीवीको टिप्पणी छ । ती अति प्राचीन धरोहरहरु जिल्लाकै महत्वपूर्ण पर्यटकीय सम्भावनाका ठाउँ भए पनि त्यसतर्फ स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले चासो नदिएको नेपाल सरकारको उपसचिव सेवाबाट अवकाश प्राप्त मिथिला क्षेत्रका साहित्यकार जलेश्वरको बखरीका बासिन्दा महेश्वर रायको भनाइ छ ।
हिन्दू परम्पराका ती धार्मिकस्थल अतिरिक्त जिल्लाको बलवा नगरपालिकाको रौजाबजारमा इस्लाम धर्मावलम्बी सुफी सन्त गदालीबाबा, बाहरअलीबाबा र ताहिर अलीबाबाको मजार (समाधिस्थल) पवित्र तीर्थस्थल मानिन्छ । यहाँ दिनहुँ आपत्, दुःख परेका सयौँ श्रद्धालु सुफी सन्तको मजारमा दुःख पुकारा गरिरहेका हुन्छन् । यो पवित्रस्थलमा इस्लाम धर्मावलम्बी मात्र नभएर हिन्दू, बौद्ध र जैन धर्मावलम्बी पनि रौजामजारमा दुवा (आशीर्वाद) माग्न पुगेका हुन्छन् । दुःख पुकारा गर्न र भाकल लिएर पुग्ने सयौँ श्रद्धालुले मजार परिसर भरिभराउ देखिन्छ । तर यो पवित्रस्थलको सम्भार र विकासमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले खासै पहलकदमी नदेखाएका रौजाका बासिन्दा सामाजिक, राजनीतिक कार्यकर्ता मन्सुल कवारी बताउछन् ।
त्यसैगरी बौद्ध परम्पराका गुम्बा र चैत्य पनि संरक्षण र संवर्द्धनको अभावमा खण्डहरजस्तै बन्न थालेका छन् । जिल्लाको बर्दिवास–४ माईस्थान, बर्दिवास–१० खयरमारास्थित गुम्बाको संरक्षणमा कुनै निकायले चासो नदिएका यहाँका बौद्ध धर्मावलम्बी बताउँछन् । “स्थानीय तहले करोडौँको बजेट बनाएका हुन्छन्”, विगतमा खयरमारा गाविस छँदा अध्यक्ष रहेका चन्द्रमान मोक्तान भन्छन्, “तर स्थानीय तह हुन् वा प्रदेश वा सङ्घीय सरकार जिल्लाका प्राचीनकालदेखिका धार्मिकस्थल र सम्पदाको संरक्षणमा भने कसैले ध्यान दिएनन् ।”
जिल्लाका प्रसिद्ध धार्मिकस्थलहरुको संरक्षण, प्रवर्द्धन र मर्मतसम्भारका लागि योजनाबद्ध काम हुनसके ती सबैलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न सक्ने उच्च सम्भावना रहेको बुद्धिजीवीहरु बताउँछन् । यी सम्पदाहरुको संरक्षणले ठाउँको परिचय उजिल्याउन र यसलाई पर्यटकीयस्थलका रुपमा विकास गरेर आम्दानी बढाउन सक्ने सम्भावनालाई पनि स्थानीय सरकारले परख गर्न नसकेका राजनीतिक विश्लेषक भङ्गाहा–३ का स्थायीवासी देवराज दाहालको भनाइ छ ।
यहाँका मठको कुरा उप्काउँदा मुलुकभरिकै मुख्य मानिने मटिहानीस्थित लक्ष्मीनारायण मठ र मानमहन्थ पदवीले विभूषित हुने यहाँका मठाधीशले यो ठाउँको विकासमा कुनै प्रयत्न नदेखाएका आम मटिहानीवासीको गुनासो छ । तीन दशक पहिलेसम्म देशका कुनापाप्चाका विद्यार्र्थीहरु शिक्षा आर्जन गर्न आउने महामुनि याज्ञबल्क्य र मठको संयुक्त नाममा स्थापित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ (स्नातक क्याम्पस) र राजकीय संस्कृत माध्यमिक विद्यालयमा अब बाहिरी विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । सीमाक्षेत्रमा हुने गुण्डागर्दीका घटनाबाट असुरक्षा भाव, विद्यालय र विद्यापीठको व्यवस्थापकीय लापरवाही र थप आकर्षण केही दिन नसक्दा पढ्न आउने विद्यार्थीको सङ्ख्या घटेको त्यहाँका सामाजिक एव्म राजनीतिक कार्यकर्ता राजकिशोर मण्डल बताउछन् ।
एक दशकअघि सम्म क्याम्पस र माविमा गरी ५०० को हाराहारीमा रहने गरेको विद्यार्थी सङ्ख्या अहिले नियमित पठनपाठनमा १०० भन्दा तल झरेको राजकीय संस्कृत माविका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले स्वीकार गरे ।
जिल्लाकै पहिचान बनाएका यी धार्मिकस्थलको मर्मतसम्भारमा तत्काल प्रभावकारी पहलकदमी उठाउनुपर्ने यहाँका बुद्धिजीवीहरुको भनाइ छ । धार्मिकस्थलका नाउँमा विभिन्न संस्थाले विभिन्न निकायबाट रकम ल्याएर हजम गर्ने प्रवृत्ति मौलाएपछि स्थानीयवासीले मतलब राख्न छाडेका जिल्लामा आम टिप्पणी सुनिँदो छ ।
जिल्लाको मुख्य पहिचान मानिएका यी धार्मिकस्थलका नाउँमा रकम ल्याएर आपूmखुशी मनपरी गर्नेलाई अब कारवाहीको दायरामा ल्याउनुपर्ने आमधारणा बाक्लिदै गएको छ । विशेषगरी जिल्लाका स्थानीय तह, जिल्ला समन्वय समिति, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष), स्थानीय प्रशासन, पुरातत्व विभाग र अन्य सम्बद्ध निकायले ती सम्पदाहरुको संरक्षण र समुचित सम्भारमा तत्काल पहलकदमी लिनुपर्ने जलेश्वर नगरपालिकाको सुगाभवानीपट्टिका वासिन्दा पूर्वप्रशासक कृष्णचन्द्र झा बताउछन् । जिल्लाका यी धार्मिक र पुरातात्विक महत्वका स्थलको तत्काल संरक्षणको पहलकदमी नभए पछिल्लो पुस्ताले इतिहास पढ्दा मात्रै यी ठाउँबारे जानकारी पाउने अवस्था बन्न सक्ने टिप्पणी बुद्धिजीवीहरुको छ । रासस
प्रतिक्रिया