५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाका १५ वटै वडामा सडक सौर्यबत्ती जडान शुरु




खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको छ । नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत एक करोड २३ लाख लागतमा १५० वटा सडक सौर्यबत्ती खरीद गरेर १५ वटै वडामा जडान गर्न शुरु गरिएको हो ।

रातको समयमा नगरभित्र आवतजावत गर्ने यात्रुलाई सहजता, अँध्यारोका कारण हुने सवारी दुर्घटना तथा आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । राति आफैँ बल्ने र दिउँसो आफैँ बन्द हुने सडक सौर्यबत्ती पहिलो चरणमा व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्थाको कार्यालय अगाडि र बाक्लो मानवबस्ती रहेको ठाउँमा जडान गरिने बताइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सुरक्षित र सभ्य नगर बनाउने अभियानअन्तर्गत सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको हो ।

नगरप्रमुख रिजालका अनुसार पहिलो चरणमा वडा नम्बर १ दिक्तेलमा ५७, वडा नम्बर २ सोल्मामा ५, वडा नम्बर ३ बाम्राङमा ५, वडा नम्बर–४ खाल्लेमा ४, वडा नम्बर–५ लफ्याङमा ४, वडा नम्बर–६ नेर्पामा ४, वडा नम्बर–७ दोर्पाचिउरीडाँडामा ४ वडा जडान गरिनेछ ।

यस्तै, वडा नम्बर–८ दोर्पाबुवालुङमा ७, वडा नम्बर–९ निर्मलीडाँडामा ४, वडा नम्बर–१० पाथेकामा ६, वडा नम्बर–११ खार्मीमा ५, वडा नम्बर–१२ जालपामा ६, वडा नम्बर–१३ नुनथलामा १५, वडा नम्बर–१४ बुइपामा १५ र वडा नम्बर–१५ विजयखर्कमा नौ वटा सडक सौर्यबत्ती जडान गरिनेछ ।

एक ठाउँमा ७८ हजार बराबरको लागतमा जडान सम्पन्न हुने सडक सौर्यबत्तीको सोलार प्यानेल २०० वाट क्षमताको रहेको जनाइएको छ । बाह्र भोल्टको ब्याट्रीसहित फालामे पोलमा जडान गरिने सडक सौर्यबत्तीको बल्व ४० वाट क्षमताको रहेको ठेकेदार कम्पनी विराट इनर्जी प्रालि ललितपुरका प्रतिनिधि धनकुमार राईले बताए ।

नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडि नगरक्षेत्रभित्रको ३१ ठाउँमा सडक सौर्यबत्ती जडान गरिएको थियो । सो समयमा अपुग भएका ठाउँमा यस पटक थप १५० वटा खरीद गरेर जडान शुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र अहिले केन्द्रीय विद्युत् उपभोग गरेका छन् ।

दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी तथा सोलार प्रयोग गरिरहेका छन् । रासस

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार ००:००