१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वालिङ नगरपालिकामा नौ महीनाभित्र एक हजार जनालाई उद्यमी बनाउने




तोलाकान्त बगाले

वालिङ । वालिङ नगरपालिकामा आगामी नौ महीनाभित्र एक हजार जनालाई उद्यमी बनाउने भएको छ । दियालो गैह्र सरकारी संस्थाले वालिङ नगरपालिका र युएनडिपीको सहयोगमा यस्तो अभियाना थालेको हो ।

स्मार्ट सिटीको परिकल्पनामा अगाडि सर्दैगरेको वालिङ नगरपालिकाबाट एक करोड, युएनडिपीबाट एक करोड गरी दुई करोडको लागतमा महिलाहरुद्वारा सञ्चालित दियालो गैह्र सरकारी संस्थामार्फत ‘मोडेल प्रोजेक्ट’ सञ्चालन गरिने भएको हो ।

“गाउँका मानिसहरु धनी नभइकन देशमा समृद्धि आउँदैन, समृद्धिका लागि सबै जना आय आर्जनमा जोडिनु अति आवश्यक छ,” वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले भने–“वालिङ नगरपालिका र युएनडिपीको सहयोगमा दियालोमार्फत विशेष गरी कृषि र पशुपालनका क्षेत्रमा ‘मोडेल प्रोजेक्ट’ सञ्चालनको थालनी गरेका हौं । यो अभियान दीर्घकालीन हुन्छ । अहिले शुरुआती चरणमात्रै हो ।”

सरकारले अगाडि सारेको दिगो विकासका १७ मध्ये यस अभियानमार्फत पाँच वटा लक्ष्य पूरा गर्ने विश्वास नगर प्रमुख खाँणको छ ।

“नगरपालिकाभित्र ३१० वटा गाउँ छन् भने २०० वटा टोल छन्, ३१० मध्येका गाउँलाई नजीकैका टोलहरुमा समावेश गरी सहकारीमार्फत टोलबासीलाई लगानी गर्ने योजनामा छौं,” नगर प्रमुख खाँणले भने–“दुई सय टोलमा अहिले झण्डै ४० सहकारी सञ्चालनमा छन् । बाँकी रहेका टोलहरुमा कृषि र पशुका क्षेत्रमा काम गर्ने गरी नयाँ सहकारीहरु दर्ता गरी अगाडि बढ्छौं ।”

नगरपालिकाका १४ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा हरेक क्षेत्रको प्रतिनिधित्व हुने गरी सात सदस्यीय समिति बनाइने नगर प्रमुख खाँणले बताए ।

“नगरभित्रका सबै ठाउँको माटो एकै किसिमको छैन,” नगर प्रमुख खाँणले भने–“माटो परीक्षण गरी कुन ठाउँमा कुन खेती गर्दा राम्रो हुन्छ त्यसैलाई प्राथमिकता दिएर खेती विस्तार गरिने छ ।”

“वालिङ नगरपालिकाभित्रका युवाको वैदेशिक रोजगारमा जाने क्रमलाई कम गर्न र आफ्नै ठाउँमा उद्यमी बन्नतर्फ आकर्षित गर्न ‘मोडेल प्रोजेक्ट’ को थालनी गरेका हौं,” नगर प्रमुख खाँणले भने–“अब स्थानीय बासिन्दलाई उत्पादनसँग जोड्छौं । कृषि तथा पशुजन्य उत्पादनको सङ्कलनका लागि हरेक टोलमा एउटा सङ्कलन केन्द्रको स्थापना र हरेक वडामा एउटा विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्नेछौं । जसले विषादीरहित तरकारी उत्पादन गर्छ उसलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने पद्धतिको विकास गर्छौं ।”

उनका अनुसार नगरपालिकाले कृषि उपकरणहरु खरिद गर्ने, कृषकलाई सहुलियत दरमा बीउ पूँजी वितरण गर्ने, गाउँमा स्थापना भएका प्रत्येक सहकारीले कम्तीमा पनि ३० प्रतिशत कारोबार कृषि क्षेत्रमा गर्नुपर्ने नीति बनाइँदै छ ।

वालिङका कृषि तथा पशुजन्य उत्पादनहरुलाई देश तथा विदेशमा पु¥याउन ‘वालिङ प्रोडक्ट अफ मार्ट’ स्थापना गरी त्यहीमार्फत बिक्री वितरणको ब्यवस्था मिलाइने नगर प्रमुख खाँणले बताए । अबको दुई वर्षभित्र आयात प्रतिस्थापन गर्ने नगरपालिकाको लक्ष्य छ ।

सात वटै प्रदेशका १४ वटा पालिकामा सञ्चालन हुने यो अभियानमा गण्डकी प्रदेशबाट पोखरा महानगरपालिका र वालिङ नगरपालिका छनोटमा परेका युएनडिपी गण्डकी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।

अर्यालका अनुसार दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले सन् २०३० सम्ममा १७ वटा लक्ष्य पूरा गर्नुपर्ने सम्झौता गरेको र सोही अनुसार अहिले स्थानीय सरकारसँगै सहकार्य गरिरहेको छ ।

यो अभियानअन्तर्गत शीप, तालीम र कृषि उद्यम विकासद्वारा आर्थिक सशक्तीकरणमा जोड दिइने दियालो गैह्र सरकारी संस्थाकी अध्यक्ष कविता तिवारीले बताइन् ।

‘मोडेल प्रोजेक्ट’ अभियानको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा जाने क्रम न्यून गर्ने र युवालाई स्वदेशमै उद्यम बन्नतर्फ अभिप्रेरित गर्ने हो,” अध्यक्ष तिवारीले भनिन्, “युवा तथा कृषकहरुलाई वैज्ञानिक खेती प्रणालीकाबारेमा तालीम, आवश्यक बीउ बिजन, आधुनिक कृषि औजार, सहुलियत कर्जामा ऋण उपलब्ध गराई आर्थिकरुपमा सबल र सक्षम बनाउने रहेको छ ।”

यो अभियान आगामी चैतमा सकिने भए पनि पुनः नवीकरण गर्दै निरन्तरता दिइने बताइन्छ । रासस

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार ००:००