७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार




असार ८, जाजरकोट । कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले आ–आफ्नो घरमा कार्यालय सञ्चालन गरेर बजेट सक्दै र घरभाडा बुझ्दै आएका छन् ।

गाउँमा काम परेपछि मात्र गएर छिटोछिटो काम सकेर सदरमुकाम को छिटो आउने भन्ने होडबाजी नै चल्ने गरेको छ । गाउँमा रहेको कार्यायलमा भाडा मात्र भुक्तानी हुँदै आएको छ । गाउँगाउँमा सिंहदरबार आए पनि विकास निर्माणको कार्यशैली भने परम्परागत नै हुँदै आएकामा स्थानीयवासी दिक्क छन् । कुशे गाउँपालिकामा हुने अधिकांश कार्यक्रम सदरमुकाममा गरेर कागजमा मात्र कुशेगाउँपालिकामा गरेको देखाउने चलन अत्यधिक छ ।

वर्षभरि गर्नुपर्ने काम असार लागेपछि मात्रै हतारोमा गर्नुपर्ने प्रवृत्तिले स्थानीय सरकारको गति पनि उही पुरानै रहेको स्थानीयवासीको तर्क छ । सानो काम परे पनि हजारौँ खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता अझै कायम हुँदा सर्वसाधारण हैरान छन् । जाजरकोटमा सङ्घीय सरकारले पठाएको बजेट जेठ मसान्तसम्म पूँजीगततर्फ साढे नौ प्रतिशत मात्र खर्च भएको छ ।

त्यस्तै प्रदेश सरकारमार्फत आएको विकास बजेट २१ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटले जनाएको छ । काम गर्ने शैलीमा परिवर्तन नल्याउँदा परम्परादेखि चल्दै आएको असारे विकास यसपटक पनि दोहोरिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । अन्तिम महीनामा सिङ्गो बजेट कसरी सिध्याउने भन्नेमा स्थानीय सरकार अलमलमा छन् । अन्य स्थानीय तह आ–आफ्नै पालिकामा गएर सेवा दिए पनि कुशेगाउँपालिका, जुनीचाँदे गाउँपालकिा र बारेकोट गाउँपालिकाले भने सदरमुकामबाट सेवा दिँदै आएका छन् ।

जुनीचाँदेको केन्द्र विवाद, कुशे र बारेकोटमा सुरक्षा अभावमा बैंक नहुँदा सदमुकामबाटै सेवा दिनुपरेको गाउँपालिकाले जनाएको छ ।

२० लाखको कृषकलाई औजार वितरण

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाद्वारा जाजरकोट कुशे गाउँपालिकाका कृषकलाई विभिन्न कृषिजन्य उपकरण वितरण गरिएको छ । करीब २० लाख बराबरको विभिन्न सामग्री वितरण गरिएको परियोजनाका प्रमुख टङ्कप्रसाद रिजालले बताए ।

उनका अनुसार पावर टिलर ट्र्याक्टर दुई , खाल्डो खन्ने मेसिन दुई, पावर स्प्रेयर दुई, सिँचाइ स्प्रिङकलर १००, फुड स्प्रेयर ४०, सिगेचर २००, आरी १६०, भ¥याङ सिँढी ६०, कैची २००, थर्ममिटर दुई, जुसर मेसिन दुई र तसला १०० वितरण गरिएको छ । किसानले खेतबारीमा काम गर्नका लागि सजिलो होस् भनेर सो सामग्री वितरण गरिएको उनले बताए । रासस

प्रकाशित मिति : ८ असार २०७६, आइतबार ००:००