७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनर्निर्माणमा कोञ्ज्योसोम गाउँपालिका अगाडि




सुभानु आचार्य

असार ६, ललितपुर । निजी आवास निर्माणमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जिल्लामै सबैभन्दा अगाडि देखिएको छ । ललितपुरमा ६ पालिका रहेका छन् ।

निजी भवन निर्माणका लागि सबै व्यक्तिका नाममा जग्गा रहनु र यहाँका निर्वाचित जनप्रतिनिधिले भूकम्प प्रभावित जनतालाई समयमै भवन निर्माणका लागि झक्झकाउँदा निजी आवास निर्माणमा यो गाउँपालिका अब्वल साबित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ललितपुरका अनुगमन तथा मूल्याङ्कन विज्ञ यमनाथ गिरीले जानकारी दिए ।

गिरीले भने, “विसं २०७२ को भूकम्प गएको ५० महीनामा कोञ्ज्योसोमका ६२ प्रतिशत जनताले निजी आवास निर्माण गरिसकेका छन् । सो गाउँपालिकामा कूल लाभग्राही सङ्ख्या दुई हजार १५४ रहेका छन् । तीमध्ये पहिलो किस्ता लिने दुई हजार ६०, दोश्रो किस्ता लिने एक हजार ७७४ र तेश्रो किस्ता लिने एक हजार ३४८ परिवार रहेका छन् ।”

कोञ्ज्योसोमपछि निजी आवास निर्माणको काम बढी गर्ने वाग्मती गाउँपालिकाका रहेका छन् । सो गाउँपालिकाका ५६ प्रतिशत घरपरिवारले निजी भवन निर्माणको काम सम्पन्न गरिसकेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ललितपुरको तथ्याङ्कअनुसार वाग्मतीमा कूल लाभग्राही सङ्ख्या तीन हजार ३७० रहेका छन् । पहिलो किस्ताका लागि सम्झौता गर्ने तीन हजार ९९ मध्ये तीन हजार ८९ ले पहिलो किस्तावापतको रकम लगेका छन् । त्यस्तै दोस्रो किस्ता लिने दुई हजार ५५८ र तेस्रो किस्ता लिने एक हजार ८९४ परिवार रहेका छन् ।

कोञ्ज्योसोम र वाग्मती गाउँपालिकाको तुलनामा निजी आवास निर्माणमा माङ्काल गाउँपालिका तेस्रो स्थानमा रहेको छ । यस गाउँपालिकाका ४८ प्रतिशतले नागरिकले निजी आवास निर्माण गरिसकेका छन् । यस गाउँपालिकामा कूल लाभग्राही सङ्ख्या दुई हजार २७१, पहिलो किस्ताका लागि सम्झौता गर्ने दुई हजार २३६, पहिलो किस्ता लिने दुई हजार २३५, दोस्रो किस्ता लिने एक हजार ७९७ र तेस्रो किस्ता लिने एक हजार १०४ लाभग्राही रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ललितपुरले जनाएको छ ।

२०७२ सालको भूकम्पले क्षति भएका निजी आवास पुनर्निमार्णका लागि गाउँपालिकाको तुलनामा नगरपालिका र महानगरपालिका अति नै पछि परेका छन् । नगरपालिका र महानगरपालिकाभित्र गाउँपालिकाको तुलनामा निकै समस्या देखापर्ने भएकाले पुनर्निमार्णमा पछि परेको विज्ञ गिरीको बुझाइ छ ।

ललितपुर महानगरपालिकाको तुलनामा निजी आवास निर्माणका लागि गोदावरी नगरपालिका अब्वल देखिन्छ । गोदावरीका २२ प्रतिशतले निजी आवास निर्माणको काम सम्पन्न गरिसकेको देखिन्छ भने महानगरपालिकाभित्र जम्मा ११ प्रतिशत निजी आवास सम्पन्न भएको देखिन्छ ।

गोदावरीमा भवन क्षति हुने कूल लाभग्राही सङ्ख्या नौ हजार ५९८, पहिलो किस्ताका लागि सम्झौता गर्ने सात हजार ९४९, पहिलो किस्ताको लिने सात हजार ८७८, दोस्रो किस्ता लिने दुई हजार ६२० र तेस्रो किस्ता लिने दुई हजार १५२ लाभग्राही रहेका छन् ।

महानगरपालिकाभित्र कूल लाभग्राही २८ हजार ४३५, पहिलो किस्ताका लागि सम्झौता गर्ने २४ हजार ७८०, पहिलो किस्ता लिने व्यक्ति २४ हजार ७८०, दोस्रो किस्ता लिने व्यक्ति १० हजार ९०९ र तेस्रो किस्ता लिने आठ हजार ८६ परिवार रहेको तथ्याङ्क छ ।

गिरीले भने, “महानगरपालिकाभित्र बहुस्वामित्वको जग्गा रहनु, एकै घरमा दुईतीन परिवार रहँदा जग्गा र घरको नक्सा पास गर्न समस्या परेका कारण शहरी क्षेत्रमा पुनर्निमार्णको गति ढिलो भएको हो ।” ग्रामीण भेगका जनप्रतिनिधिको तुलनामा शहरी क्षेत्रका प्रतिनिधिले जनतालाई बेलाबेलामा झक्झकाउन नसकेका कारण महानगरपालिका निजी आवास पुनर्निमार्णमा पछि परेको बताइएको छ ।

ललितपुरका तीनै वटा गाउँपालिका, एक नगरपालिका र एक महानगरपालिकाभन्दा महालक्ष्मी नगरपालिका निजी आवास पुनर्निर्माणमा सबैभन्दा पछि परेको छ । महालक्ष्मीका कूल सात प्रतिशत जनताले निजी आवास निर्माणका लागि रकम लिएका छन् । यस नगरपालिकामा कूल लाभग्राही सङ्ख्या ६९७, पहिलो किस्ताका लागि सम्झौता गर्ने ५४०, पहिलो किस्ता लिने ५२४, दोस्रो किस्ता लिने ६९ र तेस्रो किस्ता लिने ५० लाभग्राही सङ्ख्या रहेका छन् ।

महालक्ष्मी नगरपालिकामा आर्थिक समस्या भएका, भूमिहीन, सोवासी, बढी गुठीको जग्गामा बस्ने व्यक्ति रहेकाले निजी आवस निर्माणमा समस्या परेको विज्ञ गिरीले बताए । रासस

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार ००:००