७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दमकल विहीन स्थानीय तह



विजय रावत

वैशाख ८, खलङ्गा । जुम्लाका सात स्थानीय तह दमकलविहीन बनेका छन् । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा दमकल भए पनि चलाउने चालक नहुँदा थन्किएको छ ।

अन्य सात गाउँपालिकामा भने दमकल छैन । जिल्ला आपत्कालीन कार्य सञ्चालन के न्द्र जुम्लाको तथ्याङ्कअनुसार जिल्लामा बाह्रै महीना आगलागीको उच्च जोखिममा देखिएको छ । आगलागीका घटना भए त्यसलाई निभाउन पर्याप्त स्रोत साधन नहुँदा धनजनको क्षति धेरै हुने गरेको छ ।

स्थानीय सरकारले दमकललाई प्राथमिकतामा राखेका छैनन् । बितेको वर्षमा मात्रै चार घर र अन्य गरी ८० भन्दा बढी ठाउँमा जलेर नष्ट भएका छन् भने गत वर्ष र यस वर्ष गरी पाँच जनाको आगोमै परी जलेर मृत्यु भएको छ तर, आगलागीबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारले महँगो हुने र व्यवस्थापन गर्न अप्ठेरो रहेको भन्दै दमकल किन्ने सोचमा देखिएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

स्थानीय सरकारका प्रमुखले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै खरीद नगर्ने सोचमा ती गाउँपालिकाहरु पुगेका छन् । आगलागीको उच्च जोखिम बढी हिमा, तिला र गुठिचौर गाउँपालिका क्षेत्र छ । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले दमकल किन्ने सोच नभएको तर चन्दननाथ नगरपालिकासँग समन्वय गरेर आवश्यक परे सहकार्य गरेर सञ्चालन गर्ने योजना रहेको बताए ।

दमकल धेरै खर्चिलो हुन्छ, उनले भने, “त्यसको व्यवस्थापन गर्न गाउँपालिका नसक्ने देखिएकाले अन्य सरकारसँग समन्वय गरेर यो सञ्चालन गर्न सकिन्छ कि भन्ने सोचेको छु ।” खर्चिलो धेरै भएकाले धान्न नसक्ने देखिएपछि चन्दननाथ नगरपालिकासँग आवश्यक समन्वय गर्ने सोच रहेको उनले बताए ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले आवश्यकता भएको तर बजेट नभएको बताउँछन् । “दमकल किन्ने सोच गाउँपालिकाको विषय हो”, उनले भने, “तर बजेट छैन, नगरपालिकासँग समन्वय गरेर आवश्यक परे काम चलाउने सोचमा छौँ ।” हिमा र सिजा गाउँपालिकाले गाउँ कार्यपालिकामा दमकल किन्ने विषयमा छलफल गरिने जनाएको छ । “दमकल किन्न सक्ने र व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले भने, “तीन सरकारले मिलेर चलाउने हो की भन्नेसम्मको छलफल भएको छ ।”

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र जुम्लाका सूचना अधिकारी देवेन्द्र पौडेलका अनुसार जुम्लाका केही स्थानीय तह आगलागीको  उच्च जो खिममा र हे का छन् । सबै स्थानमा दमकलको पहुँच नहुँदा बढी क्षति हुने गरेको उनको भनाइ छ । आगलागीबाट यो वर्ष ८० लाख बराबरको क्षति भइसकेको छ । यस्तै, गत वर्ष पनि ४३ लाख बराबरको क्षति भएको सूचना अधिकारी पौडेले बताए ।

जडीबुटी सङ्कलन केन्द्र प्रयोगविहीन

तातोपानी गाउँपालिका ७ सुर्कीमा निर्माण भएको मालिकी जडीबुटी सङ्कलन केन्द्र प्रयोगमा आउन सकेको छैन । २०७३ जेठ २३ गते सम्झौता भई ०७३ असार २० गते जम्मा चार लाख ८६ हजार ८८८ रुपैयाँ ८५ पैसामा उक्त आयोजना सम्पन्न भएको थियो । जडीबुटी सङ्कलन केन्द्र प्रयोगमा आउन नसक्दा भवन जीर्ण बन्दै गइरहेको छ ।

त्यस क्षेत्रमा उपलब्ध हुने जडीबुटी सङ्कलन तथा व्यवस्थापन गरी सामूहिक बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ भवन निर्माण गरिएको थियो तर प्रयोगमा नआउँदा जडीबुटी सङ्कलन गर्ने स्थानीय व्यापारीबाट ठगिने गरेका छन् ।

साविकको ताम्ती गाविसका स्थानीय जडीबुटी सङ्कलनबाटै जीवन धान्दै आएको, तातोपानी ७ सुर्कीका युवा मानबहादुर रावतले बताए । उनका अनुसार त्यस क्षेत्रका स्थानीयले विशेष गरी सेतोचिनी, घुच्ची च्याउ, यार्सागुम्बा, धूपी, सतुवा, वनलसुन जस्ता जडीबुटी सङ्कलन गर्ने गर्दछन् । मूल्यमा एकरुपता ल्याउन सके यस क्षेत्रका स्थानीयवासीका लागि उपयुक्त हुने उनको बुझाइ छ । तर सामग्रीको अभावमा केन्द्रलाई प्रयोगमा ल्याउन नसकिएको मालिकी जडीबुटी सङ्कलन उपभोक्ता समितिका अध्यक्ष आईते रावतले बताए । रासस

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार ००:००