१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको लमहीमा ट्रमा सेन्टर बन्ने



चैत १८, नारायणपुर । प्रदेश नं ५ स्तरीय ट्रमा सेन्टर दाङको लमहीमा स्थापना हुने भएको छ । पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना बढी हुने भएकाले सोलाई मध्यनजर राखेर ट्रमा सेन्टरको स्थापना गर्न थालिएको प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिए ।

दाङ देउखुरी क्षेत्रमा दैनिक सडक दुर्घटना हुने घाइतेलाई उपचारका लागि नेपालगञ्ज वा बुटवल लैजानुपर्ने बाध्यता छ । त्यो समस्यालाई समाधान गर्न ट्रमा सेन्टरको आवश्यकता महशुस गरिएको उनको भनाइ छ । ट्रमा सेन्टरका लागि स्थानीय तहले नेतृत्व लिन आवश्यक रहेको भन्दै प्रदेश र सङ्घीय सरकारले सहयोग गर्ने अर्का प्रदेशसभा सदस्य रेवतिरमण शर्माले बताए ।

जग्गाको लालपूर्जा नभएकै कारण ट्रमा सेन्टर स्थापना गर्ने कुरा रोकिन नहुने प्रदेश मामिला तथा कानून समिति सभापति दामा शर्माको भनाइ छ । प्रदेशसभा सदस्य सरस्वती गौतमले देउखुरीमा ट्रमा सेन्टर स्थापना गर्ने कुरा सकारात्मक रहेको भन्दै तीन तहकै सरकारबाट उत्तिकै पहल हुन आवश्यक रहेको बताइन् ।

प्रदेश नं ५ का स्वास्थ्य निर्देशक दिनेश चापागाईंले लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने विषयमा एकिन भइसकेको जानकारी दिँदै डिजाइन तयार गरी गुरुयोजना निर्माण गर्ने कार्यमा लागिने बताए ।

लमहीमा रहेको कृषि उपज बजार केन्द्रको जग्गा नै ट्रमा सेन्टरका लागि उपयुक्त हुने बताइएको छ । राजमार्गसँग जोडिएको जग्गा भएकाले पनि हाल उद्यमशिल सहकारीले भोग चलन गर्दै आइरहेको जग्गा नै ट्रमा सेन्टरका लागि उपयुक्त हुने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।

ट्रमा सेन्टरको लागि कम्तीमा पनि एक बिघा क्षेत्रफलको जग्गा आवश्यक पर्ने उक्त स्थानको जग्गा उपयुक्त रहेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रदेश सरकारले ट्रमा सेन्टर स्थापना गर्न यसवर्ष दुई करोड विनियोजन गरेको छ । नगरपालिकाले ट्रमा सेन्टर स्थापना गर्ने विषयमा सर्वपक्षीय छलफलको आयोजनासमेत गरेको छ । छलफलमा प्रदेशसभा सदस्यहरु, मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशक, छिमेकी गाउँपालिका गढवाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी लगायतको सहभागिता थियो । रासस

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार ००:००