१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘काभ्रे प्रादेशिक राजधानी बन्न सक्छ’



युवराज पाण्डे
२४ पुस, बनेपा ।
प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक बन्नसक्ने सम्भावना यथावत छ । सरकारले अस्थायी राजधानी नतोकेका कारण र ३ नं प्रदेशको राजधानीका लागि अधिकांश जिल्लालाई पायक पर्ने स्थान काभ्रेपलाञ्चोक नै भएका कारण पनि प्रादेशिक राजधानीको सम्भावना देखिएको हो ।

यस जिल्लालाई राजधानी बनाउने विषयमा प्रमुख राजनीतिक दलहरुबीच पनि मतैक्यता देखिएको छ । नागरिक समाज र राजनीतिक दलहरुले केही दिन अघि बनेपामा प्रदर्शन गर्दै प्रादेशिक राजधानी काभ्रेपलाञ्चोकलाई बनाउन माग गरेका हुन् ।

काभ्रेपलाञ्चोकबाट निर्वाचित प्रादेशिक सांसद रत्न ढकालले संघीयताको मूल मर्म विकेन्द्रीकरण भएकामा जोड दिँदै भौतिक पूर्वाधारको व्यवस्थापन गर्न पनि सहज हुने भएकाले काभ्रेपलाञ्चोकलाई राजधानी बनाउन सकिने पर्याप्त आधार भएको बताए ।

उनले भने, “सरकार राजधानी तोक्ने विषयमा आफ्नो निर्णयबाट पछि हटेको छ । त्यसैले पहिलो प्रदेशसभाको बैठकले नै ठोस निष्कर्ष निकाल्ने छ ।”

काभ्रेपलाञ्चोकबाट निर्वाचित प्रादेशिक सांसद लक्ष्मण लम्सालले काभ्रेपलाञ्चोकबाहेक अन्य जिल्ला प्रादेशिक राजधानी हुन्छ भन्ने भ्रमको पछि नलाग्न अनुरोध गर्दै राजधानी बनाउन यहाँ प्रशस्त आधार रहेको दाबी गरे ।

उनले आइटी पार्क, भकुण्डे, पाँचखाल जस्ता फराकिलो स्थान यस जिल्लामा रहेको र तत्काल प्रशासनिक कार्य सञ्चालनका लागि भौतिक संरचना पनि विद्यमान रहेको बताए ।

नेकपा एमालेका अध्यक्ष टोकबहादुर वाइबाले प्रादेशिक राजधानी बनाउने अभियानको एमालेले नेतृत्व गर्ने उल्लेख गर्दै प्रादेशिक राजधानी बनाउन दबाबमूलक अभियानमा लागेको बताए ।

उनले भने, “यहाँ प्रशासनिक भवनका लागि पूर्वाधार हुनु, छिमेकी दुई मुलुक जोड्ने राजमार्ग रहनु नै राजधानी बनाउने आधार हो ।”

नेपाली कांग्रेसका सभापति मधुप्रसाद आचार्यले प्रादेशिक राजधानी काभ्रेपलाञ्चोकलाई बनाउने विषयमा नचुक्न जिल्लावासीलाई आग्रह गरे र काठमाडौँ उपत्यकामै ३ नं प्रदेशको राजधानी भए जनताले प्रशासनिक विकेन्द्रीकरणको प्रत्याभूति महसुस गर्न नसक्ने बताए ।

व्यावहारिक, वैज्ञानिक र प्रशासनिक सुगमताको दृष्टिले पनि काभ्रेपलाञ्चोकलाई प्रदेशको राजधानी बनाउन सकिने उनको जिकिर थियो । प्रदेश ३ को राजधानी यस जिल्लालाई बनाउने विषय जिल्लावासीको साझा मुद्दा भएको उनले बताए । क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेका अनुसार ३ नं प्रदेशको राजधानी बनाउन चार जिल्लाको अवस्था सिफारिश गरेर शहरी विकास मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा पत्राचार भएको छ ।

उनले काभ्रेपलाञ्चोक सहित ललितपुर, मकवानपुर र भक्तपुर जिल्लाको वास्तविक अवस्थाबारे जानकारी दिइसकेको बताए । शहरी विकास डिभिजन कार्यालय, धुलिखेलका प्रमुख अष्टलाल सुवालले क्षेत्रीय प्रशासकको कार्यालयमा पत्राचार भएपछि थप जानकारी प्राप्त नभएको बताए ।

क्षेत्रीय प्रशासक पाण्डे संयोजकत्वमा गठन भएको सिफारिश समितिमा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुख लगायत थिए । सो समितिले प्रदेशसभाका लागि बनेपा नजिकै रहेको आइटी पार्क, शैक्षिक तालीम केन्द्र र नापी तालीम केन्द्र उपयुक्त हुनसक्ने सिफारिश गरेको थियो ।

केही दिनअघि पूर्वाधार विकासका लागि ३१ करोडको हाराहारीको बजेट आवश्यक भएको प्रतिवेदन क्षेत्रीय प्रशासकको कार्यालय, हेटाैँडामा पठाइएको थियो । प्रदेश ३ अन्तर्गत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ । यस जिल्लामा दलहरुले अघोषित रुपमा प्रादेशिक राजधानीका लागि अन्तरक्रिया, छलफलमार्फत दबाब सिर्जना गरिरहेका छन् ।
रासस

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार ००:००