१२ मंसिर २०८३, शनिबार | Sat Nov 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समपुरक र विशेष अनुदानको बिजोग

लेखक रञ्‍जित तामाङ ११ मंसिर २०८३, शुक्रबार ६ मिनेट पढाइ
यो समाचार सुन्नुहोस्0:00 / --:--
  • २०७७ सालमा मधेस प्रदेश सरकारले समपुरक अनुदानबाट सर्लाहीमा सर्पदंशको औषधी उत्पादन गर्ने आयोजना थाल्यो । उक्त आयोजना झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन भए पछि विवादित मात्रै बनेन, भ्रष्टचारको अरोपमा २०८० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्‍यो । २०८१ सालमा उक्त मुद्दामा मधेसका तत्कालिन आर्थिक मामिला मन्त्री विजय यादवसहित ५ जनालाई दोषी ठहर गर्‍यो । उक्त मुद्दा हाल सर्वोच्च अदालतमा बिचारधीन छ भने आयोजना अलपत्र छ ।
  • कालिकोट र आछाम जिल्लामा पर्ने कालीकोट, लालु, लैफु, रास्कोट कोटवाडा, रास्कोट-रामारोशन सडक २०८३ असारमै निर्माणसम्पन्न भइसक्नु पर्ने थियो । संघ, प्रदेश र स्थानीय तहहरूको संयुक्त लगानीमा बनिरहेको उक्त आयोजना ठेकेदारको लापरवाही, भुक्तानीमा ढिलाई, भौगोलिक विकटताजस्ता विभिन्न कारणले अझै सम्पन्न भएको छैन ।
  • विशेष अनुदानबाट निर्माण भइरहेका कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा सामुदायिक आवस गृह, रौतहटको बृन्दावन नगरपालिकाको खानेपानी ओभरहेड ट्याङ्की र सिराहको सखुवा नरकट्टी गाउँपालिकाको विद्यालय भवन वर्षौँदेखि अलपत्र छन् ।

संघीय सरकारको समपुरक र विशेष अनुदानबाट प्रदेश र स्थानीय तहमा सञ्चालित माथीका आयोजनाहरू अलपत्र र रुग्ण अवस्थामा छन् । रुग्ण अवस्थाका यी आयोजनाहरू केही प्रतिनिधी उदाहरण मात्र हुन् । वित्त संघीयता कार्यान्वयन गर्दा देखिने ‘फिस्कल ग्याप’ पुरा गर्न समपुरक र विशेष अनुदानबाट सञ्चालन गरिएका २ हजार वटा आयोजनामध्ये धेरैजसो यस्तै अवस्थामा छन् ।

पर्याप्त पूँजी नभएका प्रदेश र स्थानीय तहलाई योजना निर्माण गर्दा संघीय सरकारले कार्यविधी अनुसार स्थानीय तहलाई २० देखि ८० प्रतिशतसम्म र प्रदेशलाई ४० देखि ६० प्रतिशतसम्म समपुरक अनुदान दिँदै आएको छ । यसैगरि सीमान्तकृत पारिएका, दुर्गम र दलित समुदायमा लक्षित आयोजनाका लागी सरकारले शत प्रतिशत विशेष अनुदान अनुदान दिँदै आएको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार क्रमागत र नयाँ गरि समपुरक र अनुदानतर्फ १ हजार ११५ र विषेशतर्फ ८ सय ९५ वटा आयोजना सञ्चालनमा छन् । राष्ट्रिय योजना आयोगका अनुसार आयोजनाहरू रुग्ण हुनुमा ठेकेदारको लापरवाही, स्थानीय तह र प्रदेशको कमजोर कार्यक्षमता, मुद्दा मामिलाजस्ता विभिन्न कारण छन् ।

“अहिले चालू नयाँबाहेक क्रमागत आयोजनाहरू अधिकांश समस्याग्रस्त छन् । कतिपय भ्रष्टचारको मुद्दाले अघि बढ्न सकेका छैनन् । बागमती र गण्डकीबाहेक सबै प्रदेश र स्थानीय तहमा आयोजनाहरू भद्रगोल अवस्थामा छन्,” राष्ट्रिय योजना आयोगका एक अधिकारी भन्छन्, “ठाउँपिच्छे समस्या फरक–फरक छन् । तर प्रदेश र स्थानीय तहको कार्यक्षमता, लागत सहभागिता बेहार्न नसक्ने, ठेकेदारको लापरवाही, मुद्दामामिला समस्याका प्रमुख कारणहरू हुन् ।”

योजना आयोगको निष्कर्षलाई महालेखा नियन्त्रकको कार्यालय (मलेनिका)को खर्च बिबरणले पनि पुष्टी गर्छ । विगतका केही वर्षयता बार्षिक रुपमा संघीय सरकारले स्थानीय तह र प्रदेशमा सञ्चालन हुने विशेष अनुदान र समपुरक अनुदानका लागी १३/१३ अर्ब रुपैयाँका दरले २६ अर्ब रुपैयाँ विनियोजन गर्दै आएको छ ।

गत आवमा २६ अर्ब रुपैयाँमध्ये १५ अर्ब २५ करोड रुपैयाँ (५८.६६%) मात्र खर्च भएको थियो । अघिल्ला आवहरूमा पनि समपुरक र विशेष अनुदानको खर्च औषत रहेको थियो ।

सूदुरपश्चिम, कर्णाली, कोशी र मधेसमा समस्या

गण्डकी र बागमतीमा सन्तोषजनक देखिए पनि बाँकी सबै प्रदेश र स्थानीय तहमा समस्या देखिएको छ । कतिसम्म भने आर्थिक वर्ष ०८१/८२ मा मधेस प्रदेशले राजनीतिक विवादलाई देखाउँदै एक वटा पनि समपुरक र विशेष अनुदानको कार्यक्रम मागेनन् ।

“तोकिएको ढाँचामा राष्ट्रिय योजना आयोगको सिस्टममा हालेर पठाएका समपुरक र विशेषका योजनाहरू स्वीकृत हुँदै आएका छन्,” योजना आयोगका ती अधिकारी भन्छन्, “प्रदेशको राजनीतिक विवादलाई देखाएर दुवै शिर्षकका एक वटा पनि कार्यक्रम मागेनन् ।”

आयोगका अनुसार मधेसमा एकाधबाहेक सबै आयोजनामा ढीलासुस्ती र समस्या छ । यसैगगरि कर्णाली र सूदुरपश्चिम प्रदेश र त्यहाँका स्थानीय तहहरूद्वारा सञ्चालित आयोजनाहरू पनि समस्याग्रस्त छन् । यसैगरि कोशी प्रदेश र त्यहाँका स्थानीय तहहरूमा पनि कार्यान्वयनको अवस्था सन्तोषजनक छैन ।

“धरानमा बसपार्क निर्माणसम्पन्न भएको त छ, तर असाध्यै ढीला गरि ! कोशीमा यस्ता उदाहरण धेरै छन्,” ती अधिकारी भन्छन्, “सुदुरपश्चिम, कर्णाली र मधेस आयोजनाहरू कि मुद्दा मामिलाले थलिएर रुग्ण छन् । कि केही महिनाभित्र बनिसक्ने पूर्वाधार बर्षौँपछि बनिरहेका छन् ।”

‘विषेश र समपुरक अनुदानबारे नै थाह छैन’

नेपालमा ७ सय ५३ स्थानीय तह कार्यान्वयन भएको करिब एक दशक पुगिसकेको छ भने संघीय सरकारले तेस्रो स्थानीय निर्वाचनको तयारी गरिरहेको छ । अनौठो कुरा के भने, यति लामो समय वितिसक्दा पनि कतिपय स्थानीय तहलाई समपुरक र विशेष अनुदान के हो भन्नेबारेमा थाह नभएको समेत पाइएको छ ।

यसको ज्वलन्त उदाहरण हो यस बर्षका लागी १५ वटा स्थानीय तहले विशेष र समपुरक अनुदानका लागी एक वटा पनि योजना पेस गरेका छैनन् । यसैगरि ५७ वटा स्थानीय तहले समपुरक र विशेषमध्ये एक वटाको योजना पेस गरेका छैनन् ।

“कतिपय स्थानीय तहले आयोगको अनलाईनमा योजना बिबरण हाल्न नजानेको पायौँ । कतिले क्रमागत आयोजना हुँदा नयाँ नपाइने हो कि भनेर पनि नमागेको पायौँ” आयोगका ती अधिकारी भन्छन्, “कतिपय स्थानीय तहमा चाँही समपुरक र विशेष अनुदान के हो ? र कसरी माग गर्नु पर्छ भन्ने पनि थाह नभएको पायौँ ।”

यसबारे ‘लोकल फाइनान्स’ को अध्येता नवराज शर्माको पनि अनुभव आयोगका अधिकारीहरूको जस्तै छ । कतिपय स्थानीय तहका जनप्रतिनिधी र कर्मचारी समपुरक र विशेष अनुदानबारे अनभिज्ञ पाइएको उनको अनुभव छ ।

“जनप्रतिनिधीले त थाह पाएनन्, स्वभाविक मान्न सकिएला ! लोकसेवा पास गरेर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा बसिरहेका कतिपय उपसचिवलाई पनि समपुरक र विशेष अनुदानबारे थाह रहेनछ,” शर्मा भन्छन् ।

काठमाडौं महानगरले कहिल्यै माग गरेन

चालू आवका लागी समपुरक र बिषेश अनुदान माग नगर्ने १५ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकाले अहिलेसम्म कुनै योजना माग गरेको छैन ।

सञ्चित कोषको मौज्दात, अन्तरिक आय, राजश्व बाँडफाँट, रोयल्टी, समानकीकरण अनुदानजस्ता आयबाट बार्षिक २० अर्ब रुपैयाँभन्दा धेरै स्रोत जुटाउने काठमाडौं महानगरलाई बजेटको अभावभन्दा पनि खर्च गर्ने ठाउँ छैन ।

५० बर्ग किमी क्षेत्रफलको महानगरमा सडक, खानेपानी, विद्युत, ढलजस्ता ठूला प्रकृतिका काम संघीय सरकारको हातमा छ । फाल्चा बनाउने, गल्लीमा ढुङ्गा छाप्ने, साना सडक पीच र मर्मत गर्नेजस्ता साना प्रकृतिका कामहरू गरिरहेको छ ।

”बजेट खर्च नसकेर काठमाडौं महानगरले भगिनी सम्बन्ध कायम भएका स्थानीय तहहरूका योजनालाई बजेट दिइरहेको छ । दमकल बाँडेको छ,” महानगरका एक निर्देशकले भने, “आफ्नै पैसा खर्च गर्न नसकेको बर्षौँ भइसक्यो, विशेष र समपुरक अनुदान ल्याएर के गर्नु ?”

समपुरक र विशेष अनुदान के हो ?

झट्ट हेर्दा समपुरक र विशेष अनुदानको प्रकृति विगतको केन्द्रीकृत व्यवस्थामा सरकारले आफ्नो तजबिजीमा जिविस, नगरपालिका र गाविसलाई दिने बजेटजस्तो देखिन्छ । तर समपुरक र विषेश अनुदानबारे संविधानको धारा ६० को उपधारा ६ मा व्यवस्था छ ।

यसैगरि अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा १० ले समपुरक र दफा ११ ले विषेश अनुदानको व्यवस्था गरेको छ । यसैगरि सरकारले कार्यविधी पनि जारी गरेर पटक–पटक संशोधन गरिसकेको छ । यिनै व्यवस्थाहरू बमोजिम संघीय सरकारले प्रदेश र स्थानीय तहलाई आर्थिक वर्ष ०७६/७७ देखि समपुरक र विशेष अनुदान पठाउन थालिएको हो ।

संघले संविधानतः प्रदेश र स्थानीय तहमा समानीकरण, सशर्त, राजश्व बाँडफाँट र रोयल्टी हस्तान्तरण गर्छ । यी स्रोतहरूले अपुग हुँदा प्रदेश र स्थानीय तहले संघीय सरकारसँग समपुरक र विशेष अनुदान माग गरेर ‘फिस्कल ग्याप’ घटाउन यी अनुदानहरू दिइएको अध्येता शर्मा बताउँछन् ।

“संविधानको प्रस्तावनामै विगतका सबै विभेद र उत्पीडनको अन्त्य गर्ने उल्लेख छ । त्यसैले पछाडी पारिएका समुदायहरूका लागी विषेश अनुदानको व्यवस्था गरिएको हो,” शर्मा भन्छन्, “संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्थित्व र सहकार्यमा आधारित हुने व्यवस्था गरेको छ । त्यसैले समपुरक अनुदान अन्तरसरकार समन्वय र सहकार्य गर्ने माध्यम पनि हो ।”

कार्यविधीअनुसार विशेष अनुदान शत प्रतिशत पाउँछन् भने समानीकरण अनुदानमा भने लागत सहभागिता बेहोर्नु पर्ने हुन्छ । आर्थिक, भौगोलिक, पूर्वाधार विकासका हिसाबले स्थानीय तह र प्रदेशलाई ७ वटा बर्गमा बर्गीकृत गरिएका छन् ।

बर्गीकरण अनुसार स्थानीय तहले २० देखि ८० प्रतिशतसम्म र प्रदेशले ३० देखि ६० प्रतिशतसम्म लागत सहभागिता बेहोर्नुपर्ने व्यवस्था छ । कतिपय स्थानीय तहले लागत सहभागितासमेत बेहोर्न सकेका छैनन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।